2020 November 30/ 10:59: 13am

    बनेपा/कोरोना भाईरसका कारण निधन भएका पत्रकार विष्णु चौलागाईको श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । हिजो बुधबार १३ औं दिनको पुण्य तिथिमा स्व. चौलागाई प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना ब्यक्त गरिएको थियो । नेपाल पत्रकार महासंघ काभ्रे शाखा र प्रेस संगठन काभ्रे शाखाले अलग अलग कार्यक्रमको आयोजना गरी चौलागाई प्रति श्रद्धाञ्जली ब्यक्त गरेका हुन् । 
    नेपाल पत्रकार महासंघ काभ्रे शाखाले आयोजना गरेको कार्यक्रम संस्थाका उपाध्यक्ष रमेश न्यौपानेको अध्यक्षता तथा सचिव नगेन्द्र अधिकारीको संचालनमा सम्पन्न भएको थियो । सोहि श्रद्धाञ्जली सभामा नेपाल पत्रकार महासंघ वागमती प्रदेश उपाध्यक्ष यदुनाथ गौतम, नेपाल पत्रकार महासघंका सल्लाहाकार ईश्वरी ओझा, मृतक चौलागाईका भाई दिपक चौलागाईले स्व. पत्रकार विष्णु चौलागाईले काभ्रेपलाञ्चोक जिल्लामा रहेर पत्रकारिता क्षेत्रको विकासका साथै जिल्लाकै विकास र समृद्धिका लागि खेल्नु भएको भूमिकाका बारेमा चर्चा गर्नु भएको थियो । नेपाल पत्रकार महासंघ काभ्रे शाखाले स्व. विष्णु चौलागाईको सम्झनामा कार्यालयमा १३ दिनसम्म शोक पुस्तिका राखी चौलागाईको तस्विरमा माल्यार्पण गरेको थियो । चौलागाईले पत्रकारिता क्षेत्रमा सक्रिय ब्यक्तिहरुको हौसला तथा कोशिपारी क्षेत्रको विकासमा पत्रकारिताको माध्यमबाट थप योगदान पु¥याउने पत्रकारहरुका लागि पुरस्कृत गर्ने उद्देश्यले चौलागाईकै पिता दिलनाथ चौलागाईको संरक्षकत्वमा पुरस्कार कोष स्थापना गर्नु भएको थियो । महासंघले पनि कोभिड १९ बाट बित्नु भएका पत्रकार चौलागाईको सम्झनामा केहि कार्य गर्ने अध्यक्ष तिमल्सिनाले बताउनु भयो । 
    त्यस्तैगरी  हिजो नै प्रेस संगठन नेपाल काभ्रेले कार्यालयमा स्व. चौलागाई प्रति श्रद्धाञ्जली सभा आयोजना गरेको थियो । संयोजक भुवन रायमाझीको अध्यक्षतामा र सह–संयोजक रामकृष्ण बञ्जाराको सञ्चालनमा सम्पन्न भएको थियो । श्रद्धान्जली सभामा प्रेस संगठन नेपालका केन्द्रिय सदस्य ग्याम्जो थोकर, नेपाल पत्रकार महासघं वागमती प्रदेश उपाध्यक्ष एवं प्रेस संगठन काभ्रेका सल्लाहकार यदुनाथ गौतम नेपाल पत्रकार महासंघ बागमति प्रदेश सचिव तथा सल्लाहकार सुरेश हुमागाई, मृतक चौलागाईका भाई दिपक चौलागाई लगायतले स्व. चौलागाई प्रति श्रञ्द्धाजली ब्यक्त गरेका थिए । चौलागाई पछिल्लो समय नेकपासँग सम्बन्धित रहेर नेकपा काभ्रेको प्रचार विभागमा कार्यरत र संगठनमा सल्लाहकार हुनुहुन्थ्यो । पार्टी अध्यक्ष केपी ओलीसँग उहाँकै निवासमा चौलागाई सहित उहाँको धर्मपत्नी राधिका चौलागाई नेकपामा प्रवेश गर्नु भएको थियो । छोरा समिर चौलागाईले बाबुको पत्रकारिता पेशालाई केहि वर्ष देखि सम्हाल्दै आएका छन् । चौलागाईले जिल्लाबाट दुई दशकदेखि काभ्रेपोष्ट साप्ताहिक प्रकाशन गर्दै आएका थिए भने ३५ वर्ष देखि पत्रकारितामा सक्रिय थिए ।