2020 November 30/ 09:38: 37am

    धुलिखेल/विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण २०७६ चैत्र ९ देखि जिल्ला अदालत काभ्रेपलाञ्चोकले सेवा प्रवाहमा गरेको संकुचनलाई फुकुवा गर्ने निर्णय गरेको छ । 
    २०७७     मंसिर २ गते देखि जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट प्रवाह हुने सेवालाई पूर्ण रुपमा खुल्ला गरिएको श्रेस्तेदार गोविन्द घिमिरेले जानकारी दिनुभयो । महामारी नियन्त्रण, रोकथाम, ब्यवस्थापनका कारण लामो समयसम्म मुलुकमा गरिएको लकडाउन, लकडाउन पछि महामारीको चपेटाका कारण अदालतले सेवाहरुमा सिमितता गरेको थियो । ‘अब पूर्ण रुपमा अदालतले सेवा प्रवाहलाई निरन्तरता दिने निर्णय गरेको छ’– श्रेस्तेदार घिमिरेले भन्नुभयो–‘हाल बन्दाबन्दी वा निषेध आदेशको अवस्था कायम नरहेको, अदालतका काम कारवाही वा सेवा प्रवाहमा संकुचन भएको निकै लामो अवधी भईसकेको कारण सेवाग्राहिहरुको न्यायको प्राप्तीमा रहेको कठिनाई, असुविधा एवं प्रभाव तथा महामारीको अन्त्य हुने सम्भावना समेत नरहेको स्थिति हुँदा अर्काे आदेश नहुँदासम्म मंसिर २ गतेबाट नियमित रुपले सेवा संचालन हुनेछ ।’ 
    नियमित सेवा संचालन नहुँदा लामो समय देखि थन्किएका मुद्दाहरु, बादी प्रतिवादीको बयान लिने, दिने प्रकृया तथा न्यायको पहुँचमा कमि हुन गएको थियो । तत्काल आईपर्ने समस्याहरुको समाधानका लागि अदालतले केहि सेवाहरु दिए पनि कोरोना भाईरसको महामारीका कारण पुराना मुद्दाहरुमा ध्यान पु-याउने अवस्था थिएन । जिल्ला अदालत काभ्रेपलाञ्चोकले अघिल्लो आर्थिक वर्षमा कोरोना भाईरसकै महामारीका बीच सेवा प्रभावलाई तिब्रता दिएको थियो । तीन न्यायाधीशरुबाट काभ्रेपलाञ्चोक जिल्लाको न्याय सम्पादन हुँदै आएको छ ।