2020 November 30/ 09:54: 44am

चाडपर्वमा ‘कोरोना’ र ‘सुरक्षा’ चासो
    धुलिखेल/भोलि शुक्रबारबाट तिहार शुरु हुँदैछ । हिन्दुहरुले दशंै पछि मनाउने महत्वपूर्ण चाडका रुपमा लिईएको तिहारको पूर्व सन्ध्यामा सुरक्षा निकायले नागरिकहरुको सुरक्षालाई महत्वपूर्ण योजनाका साथ कार्यान्वयन गरिरहेको छ भने स्वास्थ्य कार्यालय तथा स्थानीय सरकार र अस्पतालहरुमा कोरोना भाईरसको संक्रमण रोकथाममा जुटिरहेका छन् । नागरिकहरु आफैले ध्यान दिन सकेनन् भने कोरोना भाईरसको महामारी र सुरक्षाबाट प्रहरी र स्वास्थ्यकर्मी एक्लैले चाहेर सम्भव छैन । तिहार पछि तराईमा हुने छठ पर्वमा समेत नागरिकहरुको भिडभाडले कोरोना भाईरसको संक्रमण थप फैलन सक्ने सम्भावना छ । तिहारमा हुने जमघटलाई कम गर्न ब्यक्ति स्वयं सचेत हुन जरुरी छ । 
    प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले नागरिकहरुको सुरक्षाका लागि तिहार लक्षित सुरक्षा योजना तयार गरी मातहतका युनिटहरुलाई परिपत्र गरिसकिएको बताउनु भयो । ‘तिहारका नाममा जुवा तास, लंगुरबुर्जा, देउसी भैलो जस्ता गतिविधि नियन्त्रण गर्न परिपत्र गरेका छौं’–एसपी पौडेलले भन्नुभयो–‘नागरिकहरुको सबै खालको सुरक्षाका लागि प्रहरी युनिट मार्फत सर्वसाधारणहरुलाई जानकारी गराईएको छ ।’ जिल्लाका विभिन्न स्थानमा हरेक वर्ष तिहारको समयमा हुने जुवा तास नियन्त्रण गर्न प्रहरीले स्ट्रिङ्ग अप्रेसन गर्दै ब्यक्तिहरु पक्राउ गर्दै आएको थियो । यो वर्ष पनि प्रहरीले विभिन्न स्थानमा एम्बुस थापेर जुवा तास नियन्त्रण अभियान शुरु गरिरहेको एसपी पौडलले बताउनु भयो । अघिल्लो वर्षहरुमा झै देउसी भैलो खेल्ने क्रमलाई यो वर्ष रोकिएको हो । कोरोना संक्रमण फैलन सक्ने सम्भावनालाई रोक्न प्रहरीले जिल्लाका सबै स्थानमा देउसी भैलो नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ । देउसी भैलो कार्यक्रम मार्फत सामाजिक कार्यक्रमहरु समेत हुँदै आएका थिए । 
    प्रहरीको सक्रियतामा जिल्लामा अपराध नियन्त्रणमा सफलता प्राप्त भईरहेको छ । विभिन्न अपराधमा संलग्न ब्यक्तिहरुलाई तत्काल पक्राउ गर्ने, अनुसन्धानलाई तिब्र बनाउने र फरार अपराधीहरुलाई नियन्त्रणमा लिई कारवाही गर्न प्रहरीका सबै युनिटहरु सक्रिय भएको प्रहरी प्रमुख पौड्ेलले बताउनु भयो । जिल्ला स्थित सुरक्षा समितिको बैठकले जिल्लामा देउसी भैलो नखेल्न आव्हान गर्दै कोरोना र अन्य सुरक्षाका मापदण्ड अपनाउन नागरिकहरुलाई अपिल गरेको छ । कोभिड १९ रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि जिल्ला कमाण्ड पोस्टले निरन्तर नागरिकहरुलाई सचेत र सजग रहन अनुरोध गर्दै आएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनु भयो । कोभिडकै कारण मालपोत कार्यालय काभ्रे, बेथान्चोक र तेमाल गाउँपालिका कार्यालयले केहि दिनलाई सेवा बन्द गरेका छन् । नागरिकहरुलाई थप संक्रमण हुन नदिन कार्यालयमा कार्यरत कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएकाले सेवा स्थगित गर्नु परेको कार्यालयहरुले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 
    पछिल्लो एक साताको तथ्याङ्कमा जिल्लामा कोभिडका कारण दैनिकजसो नागरिकको निधन भएको छ । बनेपामा लामो समय देखि शैक्षिक तथा सामाजिक क्षेत्रमा योगदान पु¥याउने ब्यक्तिको पनि कोरोना भाईरसकै कारण निधन भएको छ । सामान्य ब्यक्तिहरु अस्पताल पुग्दा समेत कोरोना देखिएकाले उपचारमा असहज भएको छ । ८५ वर्षको जेष्ठ नागरिक दशंैको टिकाको भोलिपल्ट घरमै लडेको ब्यक्ति उपचारका लागि अस्पताल आईपुग्दा पोजेटिभ देखिएको छ । स्वास्थ्यकर्मीहरुले पोजेटिभ आएको १४ दिन पछि मात्रै अप्रेसन गर्ने जानकारी गराएकाले परिवार तनावमा छ । स्वभाविक हो पोजेटिभ हुँदा हुदै अप्रेसन सम्भव छैन तर ८५ वर्षको जेष्ठ नागरिकले पाएको दुःख र हैरानीको घटना वर्णन गरी साध्य छैन । नागरिकहरुको सामान्य हेलचेक्राईले हुन सक्ने सम्भावित जोखिम समयमै रोक्न सक्दा यस्ता परिणामबाट बचाउन सकिन्छ । 
    जिल्लामा २ हजार १ सय भन्दा धेरै ब्यक्तिहरु संक्रमित भईसकेका छन् । १ हजार ५ सय भन्दा धेरै निको भईसकेका छन् । संक्रमण जित्न नसक्नेहरु दैनिक बढिरहेका छन् । जिल्लाको मात्रै संख्या झण्डै ३० पुगेको छ । मंगलबार साँझसम्म २७ जनाको निधन भएको छ । महिला ९ र पुरुष १८ जना छन् । जिल्ला बाहिरका १३ जना गरी काभ्रे जिल्लामा ४० जनाले ज्यान गुमाएका छन् । सक्रिय संक्रमितको संख्या झण्डै ६ सय पुगेको छ । अस्पताल र होम आईसोलेनमा उपचार गराईरहेका संक्रमतिहरुको सुरक्षार्थ सुरक्षाकर्मीहरुले अहोरात्र सेवा गरिरहेका छन् । होम आईसोलेसनमा बसेका विरामीहरुले आफु खुशी खाने औषधी र खानेकुराका कारण संकट निम्तिन थालेको छ । प्रहरीले नागरिकको सुरक्षाका लागि गरेका अनुरोध र स्वास्थ्यकर्मीले गरेका अनुरोधहरु मान्ने हो भने नागरिकहरु अकालमै ज्यान गुमाउनु पर्ने छैन । सरकारले सरकारी अस्पतालमा कोरोनाको परिक्षण र उपचार निःशुल्क गरे पछि नागरिकहरुले त्यसको स्वागत गरेका छन् । जिल्लामा उपचार नपाएरै अन्यत्र जानुपर्ने समस्या अन्त्य गर्न धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल र स्थानीय सरकारका आईसोलेसनहरुमा स्वास्थ्यकर्मीहरु सक्रिय रहेको जिल्ला कमाण्ड पोस्ट सदस्य सचिव एवं स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।