2020 October 21/ 10:47: 26am

    कोभिड १९ का कारण विश्व संकटमा छ। नागरिकहरु छटपटाईरहेका छन्। हरेक पेशा ब्यवसाय संकटमा छ। नागरिकहरुले राज्यलाई बुझाउनु पर्ने कर कुनै न कुनै माध्यमबाट बुझाई रहेका छन्। तर कर बुझाउने नागरिकहरुलाई सुरक्षा र सरलीकरण गर्नु आवश्यक छ। कर कार्यालयमा गरिने ब्यवहार तथा सेवालाई अझै सुधार्नु जरुरी छ। ज्यान जोखिममा राखेर भिडभाड गर्दै नागरिकहरु कर कार्यालयमा पुगेर पनि सहज ढंगबाट सेवा प्राप्त गर्न नसक्दा कर तिर्न झनै सकस मानिरहेका छन्। नागरिकहरुलाई कर तिर्न कर कर होईन सहज रुपले सरल बनाउँदै कर तिरौं तिरौं लाग्ने बनाउन जरुरी छ। यहि संकटका बाबजुत पनि नागरिकहरुको कर तिर्नमा उत्साह थपेका छन्। राष्ट्र संकटमा परेका बेला नागरिकहरुले राज्यलाई विभिन्न माध्यमबाट सहयोग गर्न सक्छन्। कर समयमै बुझाउनु पनि राज्यलाई सहयोग हो। 
    आन्तरिक राजश्व कार्यालय धुलिखेलमा कर बुझाउन आउने नागरिकहरुको उत्साह थपिएको छ। सरकारले खरिद, विक्री तथा भुक्तानीका लागि अनिवार्य पान नम्वर लिनुपर्ने ब्यवस्था गरे सँगै नागरिकहरुको कर कार्यालयमा भिड लागेको थियो। पान नम्वर लिन, कर चुक्ता गर्न तथा अन्य विभिन्न सेवाका लागि मोबाईलबाटै विवरण भर्न र लिन सकिने ब्यवस्था गरेसँगै नागरिकहरुलाई सहज हुन थालेको छ। प्रविधिमैत्री कर प्रणालीका लागि नागरिकहरुको अभ्यास शुरु भएको छ। कार्यालयले कोभिड १९ को संक्रमणलाई मध्यनजर गरी नागरिकहरुलाई एकपटक फाईल बुझाए पछि कार्यालयका विभिन्न कोठामा पुग्नु नपर्ने, कर्याालय परिसरमै बैकको सुविधा, अनलाईनबाट विवरण भर्ने, पान नम्वर लिन सकिने र कर चुक्ता लगायतका कार्यहरु गर्न सकिने ब्यवस्था गरेकाले उत्साह थपिएको छ। लकडाउनका कारण अघिल्लो आर्थिक वर्ष लक्ष्य भन्दा कम राजश्व संकलन गरेको आन्तरिक राजश्व कार्यालयले चालु वर्षको साढे २ महिनामा लक्ष्य भन्दा धेरै राजश्व संकलन गरेको छ। आर्थिक वर्षको शुरुवातमै कोरोना भाईरसका कारण लकडाउन भई सेवा बन्द गर्नु परे पनि कार्यालयले अत्यावश्यक सेवालाई सूचारु गरेको थियो। सेवा निरन्तर भएकै कारण नागरिकलाई सहज र कार्यालयले लक्ष्य भन्दा धेरै राजश्व असुली गर्न सम्भव भएको हो। नागरिकहरु कर तिर्न उत्साहपूर्वक कार्यालय धाईरहेका छन्। 
    आर्थिक वर्ष २०७७÷०७८ असोज १३ गतेसम्म कार्यालयले विभिन्न शिर्षकबाट ६५ करोड ४७ लाख ७० हजार राजश्व संकलन गरिसकेको छ। असोज मसान्तसम्मको कार्यालयको लक्ष्य ५२ करोड ४२ लाख ४४ हजार थियो। आयकरमा २५ करोड ५७ लाख ४१ हजार राजश्व संकलन भएको छ भने १ करोड ७० लाख ३६ हजार घरभाडा कर संकलन भएको छ। ब्याज बापत ६ करोड ७० लाख ४१ हजार, भ्याट २६ करोड ९५ लाख ७६ हजार रुपैयाँ संकलन भएको छ। अन्त शुल्क बापत ४ करोड ५३ लाख ६४ हजार रकम जम्मा भएको  छ। स्वास्थ्य कर १० हजार र शिक्षा कर २ हजार रुपैयाँ जम्मा भएको छ। प्रतिशतका आधारमा अघिल्लो आर्थिक वर्ष भन्दा २०७६/०७७ मा १८ प्रतिशत धेरै राजश्व संकलन गरेको भए पनि लक्ष्यमा पुग्न सकेको थिएन। राजश्व उठाउने लक्ष्य भन्दा कम अर्थात ८४. .१९ प्रतिशत मात्रै राजश्व संकलन भयो। जिल्लाको हकमा उक्त कार्यालयले २ अर्ब ४२ करोड राजश्व संकलन गरेको थियो। संकटमा पनि नागरिकहरुको उत्साहलाई सरकारले ब्यवस्थित र झनै उत्साहपूर्ण बनाउन सेवामा अझै सहजता बनाउन जरुरी छ।