2020 October 21/ 10:17: 23am

    पाँचखाल/पाँचखाल नगरपालिका वडा नम्वर ४ स्थित जिरो किलो क्षेत्रमा रहेको बोक्से सामुदायिक वन उपभोक्ता समुह र खानीखोला सामुदायिक वन उपभोक्ता समुहमा रहेको जमिन अतिक्रमण गरी घर टहरा निर्माणका साथै ब्यक्तिले जग्गा प्लटिङ्ग शुरु गरेका छन् । उपभोक्ता समूहको सक्रियता भए पनि अतिक्रमण रोक्न सकिएको छैन । डिभिजन वन कार्यालय, सव–डिभिजन वन कार्यालय र समुहको थप सक्रियता हुन नसक्दा अतिक्रमण बढिरहेको उपभोक्ताहरुले बताएका छन् । २४ वटा घर वन क्षेत्रमा निर्माण भएका छन् भने सयौ रोपनी जमिन अतिक्रमणमा परेको छ । मण्डनदेउपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधि रामशरण थापा आफैले वन अतिक्रमण गरेर घर बनाएका छन् । 
    बोक्से सामुदायिक वन उपभोक्ता समुहमा रहेका झण्डै १ सय २० रोपनी जमिन दुर्गा ठकुरी, राजकुमार ठकुरी र राजन ठकुरीले अतिक्रमण गरेका हुन् । हालसम्म नापी नभएको, पुर्जा समेत नभएको कित्ता नम्वर ८२९ नम्वरको ७१३ रोपनी १५ आना २ पैसा १ दाम जग्गा मध्येका १ सय २० रोपनी आफ्नै दाबी गर्दै अतिक्रमण गरेका हुन् । सोहि वनको रुख फडानी गरेको अभियोगमा दुर्गा ठकुरीले जरिवाना बुझाएका छन् । २०७७ जेठ १२ गते सामुदायिक वन उपभोक्ता समुहले ठकुरी र श्याम धौभडेललाई जरिवाना तिराएको हो । बोक्से सामुदायिक वनमा अब उप्रान्त वन अतिक्रमण नगर्ने कागजमा ठकुरी र धौभडेलले हस्ताक्षर गरेको एक महिनामै ठकुरी परिवारले वन अतिक्रमण गरी प्लटिङ्ग शुरु गरेका हुन् । पहिलो चरणमा बारी बनाउने, सरकारी कागजात मिलाएर जोतखन देखाएर दर्ता गर्ने र प्लटिङ्ग गरेर विक्री गर्ने योजनामा ठकुरी दाजुभाई रहेको उपभोक्ताहरुले बताएका छन् । ठकुरी दाजुभाईले २०२५ सालमा मुद्दा गरेर आफ्नो पक्षमा भएको जमिन हजुरबुबा राक्से र बाबु कृष्णबहादुर ठकुरीले दर्ता नगरेकाले समस्या भएको बताएका छन् । राक्से ठकुरीका नाती राजकुमार ठकुरीले उक्त जग्गा आफ्नो भएको प्रमाण भएकाले जोतखन गरेर दर्ताको प्रकृया शुरु गरेको बताए । २०३२ सालमा दर्ता नगरेको, पटक–पटक छुट जग्गा दर्ताका लागि खुल्ला हुँदा समेत दर्ता नभएको उक्त क्षेत्र वनमा दर्ता भएको छ । वनमा दर्ता भएको जमिन मेरो भन्दै अतिक्रमण गरे पछि उपभोक्ता समुहले वन कार्यालय गुहारेको छ । ठकुरी परिवारले तिरो समेत तिरेको प्रमाण भएकाले आफ्नो भएको दावी गरेको छ । 
    सोहि वनमा निरबहादुर बोहोरा, सुन्दर पराजुली, कृष्णप्रसाद सापकोटा, गणेश सापकोटा, ताराप्रसाद सापकोटा, पवित्रा पराजुली, नन्दबहादुर तामाङ, जगत तामाङ, रामशरण खनाल, रामकुमार ठकुरी, दुर्गाबहादुर ठकुरी, श्यामबहादुर श्रेष्ठ, कमल तामाङ, मिना तामाङले घर निर्माण गरी वन अतिक्रमण गरेका छन् । जगतबहादुर तामाङले वन भित्र वनाएको घर अतिक्रमण गरी नन्दबहादुर तामाङलाई विक्री गरेका थिए । उनिबाट तीनजनामा विक्री भईसकेको छ । पछि गुणराज सापकोटा र रामहरी सापकोटाले खरिद गरेको जग्गा नरबहादुर तामाङले खरिद गरेका थिए । वन भित्र घर निर्माण गर्ने र विक्री गर्ने क्रम पटक पटक भए पनि डिभिजन वन कार्यालयले चासो दिएको छैन । उपभोक्ता समितिका अध्यक्ष तेजप्रसाद न्यौपानेले पटक पटक वन अतिक्रमण गर्नेहरुलाई हटाउन र र अतिक्रमण रोक्न अभियान शुरु गरे पनि सम्भव नभएको बताउनु भयो । दुर्गा ठकुरी र श्याम धौभडेललाई जरिवाना गराएर आईन्दा अतिक्रमण नगर्ने कागजमा सहि गराए पनि उनिहरुले लगातार अतिक्रमण गरेको अध्यक्ष न्यौपानेले बताउनु भयो । उपभोक्ता समुहको अनुरोधमा डिभिजन वन कार्यालयले असोज १० गते ३५ दिने म्याद दिएको अध्यक्ष न्यौपानेले बताउनु भयो । जिरो किलो क्षेत्रमा २४ वटा घर निर्माण भएका छन् भने सयांै हेक्टर जमिन अतिक्रमण भएको छ । 
    बोक्सेसँगै जोडिएको खानीखोला सामुदायिक वन उपभोक्ता समूहको जमिन अतिक्रमण गरेर १० वटा घर निर्माण भएका छन् । बुनु तामाङ, जगत तामाङ, विलबहादुर तामाङ, जनक तामाङ, रामशरण थापा, रामशरण खनाल, कमलबहादुर घोरसाईने, रमेश ठकुरी लगायतले दुईवटासम्म घर निर्माण गरी विक्री वितरण तथा भाडामा लगाईरहेका छन् । अध्यक्ष नवराज सापकोटाले अतिक्रमण रोक्न पटक पटक प्रयास भए पनि सम्भव नभएको बताउनु भयो । ‘हामीले सब डिभिजन र डिभिजन वन कार्यालयलाई पटक पटक गुहा¥यौं, आवश्यक सहयोग प्राप्त गर्न सकेनौ’–अध्यक्ष नवराज सापकोटाले भन्नुभयो । लकडाउनको अवसरमा केहि नयाँ घर थपिएका छन् । जगतबहादुर तामाङले निर्माण गरेर मासिक २२ हजार रुपैया भाडामा बसिरहनु भएका मण्डनदेउपुर नगरपालिकाका पञ्चमाया र विलबहादुर तामाङले नयाँ घर २०७७ आषाढ ९ गते मात्रै निर्माण गरेको बताउनु भयो । उता बोक्से सामुदायिक वनमा सालका रुख फडानी हुन थालेका छन् । हरि ठकुरीको परिवारले जिरो किलो नजिकैको जंगलमा रुखहरु फडानी गरे पनि कारवाही हुन सकेको छैन । वडा सदस्य रामशरण थापा आफैले वन अतिक्रमण गरे पछि अन्यले धमाधम अतिक्रमण गरेका हुन् । 
    कित्ता नम्वर ३०६४, ६०६३ सँग जोडिएको कित्ता नम्वर ८२९ वन क्षेत्र हो । मालपोत र नापि कार्यालयमा उक्त जग्गा सामुदायिक वन सरकारी भएको उल्लेख छ । १५०८, ३५९३, ३५९४, २१३७ सोहि कित्तासँग जोडिएका छन् । त्यसको बीचमा दुर्गा ठकुरीले ब्यक्तिगत जग्गा भन्दै वन अतिक्रमण गरेका हुन् । सोहि कित्तासँगै १८३४, १८३५, ३६१४, ३१४७ नम्वर कित्तामा प्लटिङ्ग शुरु गरिएको छ । मधु दाहाल लगायतको समुहले गरेको प्लटिङ्गले १० रोपनी वन अतिक्रमण गरेको छ । वन नजिकैको जग्गा खरिद गर्ने र प्लटिङ्ग गर्ने गिरोह जिल्लाका हरेक स्थानमा सक्रिय भएका छन् । सव डिभिजन कार्यालय पाँचखालका सहायक वन अधिकृत चिरञ्जिवी थापाले उक्त क्षेत्रमा वन अतिक्रमण भएको सूचना प्राप्त भएकाले वन कार्यालयले आवश्यक प्रकृया शुरु गरेको बताउनु भयो । ब्यक्तिको प्रमाण नपुग्ने जग्गा दावी गर्दैमा सरकारी वन दर्ता हुन नसक्ने उहाँले बताउनु भयो । दर्ता नहुँदासम्म उक्त क्षेत्र सरकारी भएकाले तत्काल दर्ता हुन नसक्ने र गर्न पनि नमिल्ने उहाँले बताउनु भयो ।