2024 April 26/ 03:59: 49am

मोतीराम तिमल्सिना
धुलिखेल

मुलुक बन्दाबन्दीमा छ । बन्दाबन्दीका कारण ब्यक्तिहरु घर भित्रै छन् । घर भित्रै बसेका ब्यक्तिहरुका गोप्य सम्वन्ध बन्दाबन्दीका कारण छताछुल्ल हुन थालेका छन् । यहि मौकामा केहि जोडीहरुले प्रहरी हिरासतमा चिसो भेटेर घर फर्किएका छन् भने केहि मौखिक उजुरी दिएर तर्साउँन थालेका छन् । 
पाँचखाल घर भएका ३० बर्षिय युवक टिपर चालक हुन् । केहि वर्ष देखि उनी टिपर चलाउँदै आएका थिए । घरमा उनको श्रीमती सहित दुई बच्चा छन् । बच्चाहरु सानै छन् । पहिलो बच्चा ८ वर्षको छ भने दोश्रो बच्चा ६ वर्षको । दुबै विद्यालय जान्छन् । श्रीमती घर परिवार बच्चासँगै दिन विताउँछिन् । टिपरको समयावधी निश्चित छैन । बास कता बस्ने ठेगान पनि छैन । चालकको पनौती नगरपालिका ९ सुन्थान निवासी २१ बर्षीय युवतीसँग प्रेम बस्यो । प्रेम बसेको केहि वर्ष भईसकेको छ । युवती कक्षा १२ मा अध्ययन गर्छिन् । एसएलसी दिने वितिक्कै उनीसँग प्रेम बसेको थियो । चालकले कमाएको पैसा तिनै युवतीका लागि आधा भन्दा धेरै खर्च हुने गरेको थियो । घरमा खर्च चाहियो भन्दा आम्दानी छैन भन्दै युवकले टार्दै गएका थिए । लकडाउन अघि युवती र युवक बीचको बसउठ बाहिरै हुने गरेको थियो । बनेपा वा आसपासका क्षेत्रमा हुने गरेको नियमित भेटघाट अचानक मुलुक बन्दाबन्दीमा परे पछि बन्द हुन पुग्यो । फोन र एसएमएसले मात्रै उनिहरुको धित मरेन । बन्दाबन्दीको अवस्थामा युवक पाँचखालबाट कुनै उपाय लगाएर सुन्थान पुगे । घरमा काममा जान्छु भनेर हिडेका युवक तिनै युवतीसँग फेला परेपछि श्रीमतीले प्रहरीलाई खबर गरिन् । प्रहरीले दुबैलाई आपत्तिजनक अवस्थामा फेला पा¥यो । एक रात प्रहरीले कस्टडीमा पनि राख्यो । युवकको श्रीमतीले उजुरी नदिए पछि दुबैलाई आईन्दा त्यस्तो गतिविधि नगर्ने शर्तमा तारेखमा रिहा गरिदियो । श्रीमतीलाई तब मात्रै थाहा भयो श्रीमानको सम्वन्ध अर्कै युवतीसँग छ । बन्दाबन्दीका कारण श्रीमानको गोप्य सम्वन्ध थाहा पाएकी श्रीमतीले अन्तिम पटक भन्दै चेतावनी दिएकी छिन् । प्रहरीको हिरासत बसेसँगै युवतीले कहिल्यै युवकसँग नभेट्ने र युवकले पनि घर परिवारलाई धोका नदिने प्रतिवद्धता ब्यक्त गरेका छन् । 
उता बन्दाबन्दीमा श्रीमान श्रीमती बीचको अविश्वासका कारण श्रीमती सेफ हाउस र श्रीमान हिरासतमा परेका छन् । सकेसम्म प्रहरीले बन्दाबन्दीमा कोहि पनि ब्यक्तिलाई हिरासतमा राख्दैन । गम्भिर प्रकृतिको अपराधमा मात्रै प्रहरीले हिरासतमा राख्ने गरेको छ । पाँचखाल नगरपालिका ९ पलाञ्चोक भगवती घर भएका एक दम्पतीले विहानै प्रहरीलाई फोन गरे । काठमाडौको रेस्टुरेन्टमा काम गर्दा गर्दाै प्रेम बसेका कारण विवाह गरेका दम्पती बीच काठमाडौमा रहँदा पनि पटक पटक विश्वासमा संकट पैदा भई मनमुटाव हुने गरेको थियो । २५ बर्षिय श्रीमती माथी २८ बर्षिया श्रीमानले पटक पटक शंका गरेकै कारण बेमेल हुने गरेको थियो । बैशाख ७ गते प्रहरीलाई श्रीमतीले उजुरी गरिन् श्रीमानले घरमै बसिरहेका बेला पनि परपुरुषसँगको सम्वन्धका बारेमा शंका गरी कुटपिट गरे । प्रहरीले तत्कालै पलाञ्चोक प्रहरी चौकी मार्फत श्रीमानलाई पक्राउ ग¥यो भने श्रीमतीलाई धुलिखेलमा रहेको सेफ हाउसमा राख्यो । सेफ हाउसमा बसेको भोलिपल्ट देखि नै श्रीमतीले श्रीमानलाई प्रहरी कस्टडीबाट रिहा गरिदिन प्रहरीलाई अनुरोध गरिन् । युवती आफै भने बैशाख १५ गते सेफ हाउसबाट घर फर्किन् । तर उनले श्रीमान् र आफु बीचको झगडा सधै हुने गरेकाले यो पटकको झगडामा माफी दिने भन्दै प्रहरीलाई छाडिदिन अनुरोध गरेकी थिईन् । प्रहरीले श्रीमतीको भनाईलाई मात्रै आधार नमानी पटक–पटक गरेको कुटपिट र उजुरीका आधारमा श्रीमान्लाई तारेखमा राखेको छ । घरभित्र सँगै हुँदा पनि श्रीमान् श्रीमती बीचको झगडा कम भएको छैन । 
बनेपा नगरपालिका वडा नम्वर १० घर भएकी एक युवतीले श्रीमान् आफुसँगै बस्न नआएको भन्दै प्रहरीलाई उजुरी गरिन् । प्रहरीले तत्कालै उनको श्रीमान्लाई फोन गरेर श्रीमतीको उजुरीका बारेमा जानकारी गराउँदै छलफलका लागि बोलायो । तर श्रीमानले आफुसँग लामो समय देखि श्रीमतीसँग मनमुटाव भई सँगै नबसेका कारण कानुन अनुसार सम्वन्ध विच्छेदको मुद्दा अदालतमा दर्ता गराएकाले सँगै नबसेको र नबस्ने जानकारी गराए । श्रीमानको उक्त जवाफ सँगै प्रहरीले युवतीलाई त्यहि जानकारी गरायो । सहज हुँदा श्रीमान र घर परिवार महसुस नहुने भए पनि बन्दाबन्दीमा श्रीमान र परिवार एकै स्थानमा बस्ने चाहना भएका उजुरीहरु पनि प्रहरीकोमा दर्ता भएका छन् । प्रहरीले मौखिक तथा लिखित दुबै उजुरीलाई मान्यता दिदै तत्काल कानुनी कारवाहीमा जाने गरेको छ । जिल्लामा रहेको महिला तथा बालबालिका केन्द्रमा लकडाउन अवधीमा १० वटा भन्दा धेरै उजुरीहरु महिला हिंसासँग सम्वन्धित छन् । बन्दाबन्दी हुन अघि सबै ब्यक्तिहरु अलग अलग हुने र कसैले कसैको बारेमा जानकारी समेत पाउन कठिन थियो । बन्दाबन्दीले कुनै न कुनै दिन परिवारलाई एकै स्थानमा ल्याउन मद्दत पु-यायो । त्यहि कारण लुकाईएका सम्वन्धहरु पनि खुलासा भए भने सँगै बस्दा समेत असमझदारी र शंका उत्पन्न भएका विषयहरु पनि छताछुल्ल भए । परिवार नै आवश्यक छैन भन्ने ब्यवहार प्रर्दशन भएको परिवारमा आवश्यकताको महसुस भयो । 
प्रहरी कार्यालयमा दर्ता भएका यि प्रतिनिधिमूलक घटना मात्रै हुन् । यस्ता थुप्रै घटना समाजमा छन् । जसले समाजमा अपराध तथा सामाजिक विखण्डन निम्त्याउन सहयोग पु-याएका छन् । सँगसँगै बन्दाबन्दीले पारिवारीक सम्वन्धलाई कसिलो बनाउन सहयोग पनि पु-याएको छ ।