2020 May 31/ 07:38: 10pm

गायत्री तिमल्सिना
मृतक महिलाकी बहिनी

दिदी र म साथी जस्तै हौं । ऊ सानीआमाकी छोरी म ठूलीआमाकी । हाम्रा आमाहरु दिदी–बहिनी । म चाहिं नर्स भएँ, ऊ चाहिं घरव्यवहार तिर लागि । लाख कोसिस ग¥यौं, तर सकेनौं, अल्पायूकी रहिछ, हामीलाई छोडेर गई । नौ दिनको बच्चालाई पनि छोडी । सुत्केरी चोखिन पनि पाइनँ ।
यतिखेर बाह्रविसेको राम्चे मात्र शोकमा छैन, धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका हामी सबै शोकमा छौं । हामीमा शोक बढी छ कि डर, भन्न पनि गाह्रो छ । हामी दिदीले छोडेर गएको नवजात शिशुका साथै सबै परिवारको रिपोर्ट नेगेटिभ आओस् भनेर भगवानसँग प्राथना गर्दैछौं । दिदीको सम्झनामा हामीलाई आफ्नै रिपोर्टले बारम्बार तर्साईरह्यो । (यो कुराकानी आईतबार गरिएको हो । सोमबार विहान ९ बजे मात्रै आईसोलेसनमा राखिएका सबै जनामा कोरोना संक्रमण नभएको पुष्टी भएको जानकारी प्राप्त भयो ।) 
म बनेपास्थित शिरमेमोरियल अस्पतालमा नर्सिङ पेशामा कार्यरत भएकोले पनि हामीले दिदीलाई हतार गरेर यहीं ल्यायौं । बाह्रबिसेको अस्पतालमा भेन्टिलेटर, अक्सिजनलगायतका सुविधा भई दिएको भए दिदीलाई सास फेर्न गाह्रो हुँदा अक्सिजन दिएर या भेन्टिलेटरमा राखेर अस्पताल ल्याउन सकिन्थ्यो र बचाउन सकिन्थ्यो । त्यहाँ आरडिटी परीक्षण पनि गर्न सकिएन । एकैपटक धुलिखेल अस्पतालमा ल्याउँदा मृत्यु पछि कोरोना देखियो । भरपर्दो परीक्षण विधि समेत गाउँमा छैन । आफन्त गुमाएको पीडाको घडीमा राज्यले सही सूचनासम्म नदिंदा थप पीडा भयो । 
दिदीसँग जो जति व्यक्तिहरुको भेटघाट सम्पर्क भएको छ, उहाँहरुको जतिसक्दो चाँडो ट्रेसिङ गरी छिटोभन्दा छिटो स्वास्थ्य परीक्षण गराइयोस् । परिवारका सदस्यमध्ये हामी चारजना शोकको घडीमा पनि धुलिखेल अस्पतालको आइसोलेसन वार्डमा शिशुका साथ आफ्नै रिपोर्टको प्रतिक्षामा बसेको ४८ घण्टा पछि रिपोर्ट प्राप्त भएको छ । उता घरमा मृतकको १० वर्षे जेठो छोरा र मृतकको सासु हुनुहुन्छ । उहाँहरुको पनि समयमै पिसीआर परीक्षणका लागि स्वास्थ्यकर्मी जानु भएको सुनियो । अहिलेसम्म बाह्रविसेसम्म स्वास्थ्यकर्मी पुगेका छैनन्, एरिया चै स्थानीय तहबाट शील गरिएको छ । दिदीको बच्चा जन्माउन त्रिवि. शिक्षण अस्पतालका चिकित्सकले जेठको २३ गते दिएको भएपनि एक महिना अगाडि नै बच्चा जन्मियो ।
एक महिना अघि वैशाख २३ गते उहाँलाई लेबर पेन शुरु भयो र बच्चा नर्मल नै भयो । बच्चाको अवस्था पनि सामान्य नै छ र एक महिनाअघि जन्मिएको भए पनि बच्चाको तौल पनि २ किलो ६ सय ग्राम छ, यो सामान्य नै हो । दिदी काठमाडौंको टोखामा बस्दै आउनुभएको थियो । गर्भवती भएपछि शुरुदेखि नै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नै परीक्षण गराउँदै आउँनुभएको थियो । वैशाख २३ गते राति लेबर पेन भयो, अस्पताल पुग्दा बच्चा जन्मने अवस्थामा पुगेको रहेछ । २४ गते उज्यालो हुँदा बच्चा जन्मियो । एकदिन अस्पतालमै बस्नुभयो र २५ गते अस्पतालबाट डिस्चार्ज भएपछि सिधै सिन्धुपाल्चोक घर लगेको हो । वैशाख ३१ गते राति ११ बजे देखि दिदीलाई ज्वरो आउनुका साथै सास फेर्न गाह्रो भयो । छाति पनि दुखेको रहेछ । बाह्रविसेकै स्थानीय अस्पतालमा लगियो । त्यसपछि धुलिखेल अस्पताल ल्यायौं । एम्बुलेन्सबाट तल झार्ने बेलामा नै उहाँ अचेत भैसक्नु भएको थियो । एकघण्टा जति स्वास्थ्यकर्मीले गर्नुपर्ने काम भेन्टिलेटरमा राख्ने, सिपीआर दिने काम गरे । त्यसपछि अस्पतालले दिदीको मृत्यु भयो भनेर घोषणा गर्यो । धुलिखेल अस्पताल ल्याएर पनि बचाउन सकिएन । त्यो भन्दा अघि उहाँलाई धामीकोमा फुक्न पनि लगिएको रहेछ । 
शुरुमा एम्बुलेन्सलाई फोन गरिएको रहेछ । एम्बुलेन्स समयमै गएन छ । एम्बुलेन्स ढिला भएकाले उहाँहरुले झारफुक पनि गर्नु भएको रहेछ । स्वास्थ्य चौकीमा एक्सरेको रिपोर्ट हेरेर कोरोना परिक्षण गर्न काठमाडौ लग्नु भन्नु भएको रहेछ । कोरोना लागेको मान्छे भागेर गयो भन्ने हल्ला फैलिएछ । तत्काल घरमा हामीलाई फोन आयो । घरमै एम्बुलेन्स आयो र धुलिखेल अस्पतालमा ल्याईएको रहेछ । दिदीको ढुकढुकी मात्रै बाँकी रहेछ अस्पताल आईपुग्दा । भिनाजु आफैले दिदीलाई बोकेर अस्पताल भित्र पु¥याउनु भएको रहेछ । अस्पतालमा कोरोना लागेको विरामी भन्ने लागेर कसैले बोक्न मानेका रहेनछन् । अस्पताल ल्याएको १० मिनेट भित्रै दिदीको निधन भईसकेछ । 
हामी सामान्य परिवारको मान्छे, पहिला भिनाजु नेपाली सेनाको जागिरे हुनुहुन्थ्यो, पछिल्लो समय सुरक्षा गार्डको काम गर्दै आउनुभएको छ । सबैभन्दा ठूलो चोट त अब भिनाजुलाई प¥यो, दुई–दुई बच्चा कसरी हुर्काउनुहुन्छ ! अहिलेसम्म कसैले सहयोगको कुनै बचन दिएको छैन । सरकारले हामीजस्ता पीडामा परेका व्यक्तिलाई सान्त्वना दिने, सुरक्षा गर्ने खालका काम बिहिवारदेखि आज (शनिवार ४ बजेसम्म) पनि गरेन ।
यति सम्म कि, रिपोर्ट पनि समयमा दिईएन । हामी सानो बच्चालाई लिएर अस्पताल बाहिरै भौतारिदै रिपोर्टको प्रतीक्षामा बस्यौ । बिहीबार दिदी बित्नुभयो, शुक्रबार बिहानदेखि रिपोर्ट १२ बजे आउँछ, ४ बजे आउँछ, ८ बजे आउँछ भनेर आश्वासन दिइयो । हामीलाई कुनै जानकारी पनि गराईएन र सुरक्षित बस्न पनि भनिएन । त्यतिञ्जेल अस्पतालले त रिपोर्ट पाइसकेको थियो । हामी शोकमा परेका बेला कति मान्छेले छोए होलान् ? सान्त्वना दिन आए होलान् भन्ने हेक्का समेत छैन । यदि सरकार र अस्पतालले पहिला नै सुरक्षित राखेर रिपोर्ट सार्वजनिक गर्न समय लाग्छ भनेको भए अरुलाई संक्रमण हुने थिएन ।
तेस्रो दिन शनिवार पनि हामीलाई रिपोर्टको बारेमा जानकारी गराइएन । म आफै शिर मेमोरियल अस्पतालमा काम गर्ने नर्सलाई त यति गाह्रो भयो भने सर्वसाधारणलाई कस्तो होला ? शनिवार म आफै ल्याबमा गएर किन हामीलाई रिपोर्टका बारेमा जानकारी गराउँनु हुन्न भने पछि एक जना कर्मचारीले तपाईहरु सुरक्षित बस्नुस्, उहाँको रिपोर्टमा डाउट भएकाले हिजै टेकु पठाएका छौं, उताको रिपोर्ट स्वास्थ्य मन्त्रालयले ४ बजे सार्वजनिक गर्छ भन्नुभयो । शोकमा परेका व्यक्तिलाई छिटो भन्दा छिटो रिपोर्टको जानकारी दिने कि ४ बजेको प्रेसमिट पर्खने ! तपाईंहरु रिपोर्ट भन्ने कि नभन्ने नत्र म पत्रकार बोलाउँछु भनेपछि तपाईहरु जस्तै हामी पनि असजिलोमा छौं धैर्य गर्नुस् भने । तर स्वास्थ्य मन्त्रालयले ४ बजे पनि रिपोर्ट सार्वजनिक गरेन, मिडिया मार्फत दिदीको रिपोर्टको बारेमा सार्वजनिक भए पछि अस्पतालले पनि तपाईंहरु सुरक्षित बस्नुस् भनेर आइसोलेसनमा राख्यो र हाम्रो स्वाब लिएर परीक्षणका लागि ल्याबमा पठायो । रिपोर्ट आउन कति समय लाग्छ थाहा छैन । त्यो बेलासम्म हामीलाई त्यसै छाडिएको थियो । बेवास्ता थियो । अस्पतालको चरम लार्पवाहि जस्तो महसुस भयो । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले अस्पताल प्रशासनलाई हाम्रो बारेमा कुरा गरेपछि मात्रै हामीलाई आईसोलेसनमा राखिएको थियो । 
दिदीको रिपोर्ट २४ घण्टामा आइसकेको रहेछ तर सरकारकै कारण अस्पतालले सार्वजनिक नगरेको भन्ने बुझियो । पहिलो केश भएर पनि होला, सरकारले प्रक्रिया पूरा गरेर सार्वजनिक गर्न ढिला गरेको । हामीलाई जतिसक्दो छिटो नेगेटिभ होस् या पोजेटिभ, जानकारी भैदिएको भए सतर्कता अपनाउन पाउने थियौं । सरकारले प्रक्रिया र प्रेसमिटका नाममा हाम्रो जीवनमाथि खेलबाड गर्न पाउँछ ? तीन दिनसम्म सरकारकै कारण अस्पतालले प्रोसेसिङ भैरहेको छ भन्दै हामीलाई पीडामाथी पीडा थपेर गुमराहमा राख्यो । हामीले त रिपोर्ट आईसके पछि समयमै थाहा पाएर सुरक्षा अपनाउन पाउनुपर्ने हैन र ?
रिपोर्ट आएर पनि सरकारी तहको तजविजका कारण तीन दिन सम्म त्यो नवजात शिशुको बारेमा समेत वास्ता गरिएन । अझै पनि टेकुबाट आएको रिपोर्टका बारेमा सरकारी तवरबाट आधिकारिक जानकारी दिनु भएको छैन । मिडिया मार्फत मात्र जानकारी पाएका छौं । यदि मिडियाले प्रेसर नगरेको भए सरकारले अहिलेसम्म पनि रिपोर्ट सार्वजनिक गर्ने थिएन होला !
अब यतिखेर अस्पतालले सिधै घर जा भन्यो भने हामी जानसक्ने अवस्थामा छैनौ । यतिबेला हामीलाई जन्मेको ९ दिनमा आमा गुमाउन पुगेको नवजात शिशु, जो अहिले हामीसँगै छ, उसको चिन्ता छ । बच्चालाई न्यानो बनाएर राख्नुस् है भनेर अस्पतालका स्वास्थ्यकर्मीहरुले फोन गरिरहनुभएको छ । तर कसरी न्यानो बनाउने ? बच्चामा संक्रमण देखियो भने उसको स्वास्थ्यको लागि आवश्यक पर्ने एनआईसीयू, भेन्टिलेटर, छुट्टै उपचार गर्ने कक्षको विषयमा सरकारले के सोच्दैछ ? आमालाई त समयमा सही परीक्षण नपाएर मृत्युले निल्यो, यो बच्चालाई त्यस्तो नहोस् । समयमै सरकारले सोचेर व्यवस्थापन गरोस् । अहिले ल्याक्टोजिन खुवाउँदै राखेका छौं । (प्रस्तुतिः भगवती तिमल्सिना र मोतीराम तिमल्सिना, कुराकानीमा आधारित । ४ जेष्ठ २०७७, आईतबार )