2020 August 11/ 06:51: 41am

धुलिखेल/‘समृद्ध’ काभ्रेपलाञ्चोक जिल्ला निर्माण गर्ने प्रतिबद्धता सहित जिल्लास्तरीय अर्धबार्षिक समीक्षा तथा चौथो जिल्ला सभा सम्पन्न भएको छ । 
जिल्ला समन्वय समितिले ६ महिनामा गरेका निर्णयहरुको अनुमोदन तथा जिल्ला विकास समितिको साविक कोषमा रहेको मौज्दात वितरणको अनुमोदन र बहुबर्षिय गौरवपूर्ण आयोजना कार्यान्वनको माग गर्दै सभा सम्पन्न भएको हो । समन्वय समितिका प्रमुख उद्धव केसीले समृद्ध काभ्रेपलाञ्चोक जिल्ला निर्माणका लागि सभाका सदस्य एवं स्थानीय तहका प्रमुख उपप्रमुखहरु समक्ष प्रस्ताव गर्नु भएको थियो । सभाको पेश भएका प्रस्तावहरुमा सदस्यहरुले एक मतले पास गरेका थिए । समन्वय समितिका प्रमुख उद्धव केसीको अध्यक्षतामा सम्पन्न अर्धबार्षिक समिक्षामा संघिय सासद गंगाबहादुर तामाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै संघिय सांसद गंगाबहादुर दोङ्गले जिल्लाको समग्र विकासका लागि महत्वपूर्ण योजनाहरु संचालन भईरहेको बताउनु भयो । जिल्ला सभा बैठकले जिल्लाका महत्वपूर्ण आयोजनाहरु सुर्यविनायक धुलिखेल ६ लेन सडक, सुनकोशी इन्द्रावती बहुउद्देश्यीय परियोजना, पालिकाहरुको केन्द्रसम्म पुग्ने सडक पक्कि रुपमा निर्माण गर्न संघ र प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता प्रेम लामाले जानकारी दिनुभयो ।
तीनै तहका सरकारले विकासलाई तिब्र बनाउँदै अगाडी बढिरहेको बताउँदै सांसद् गंगाबहादुर दोङ्गले जनताले दिएको विश्वासलाई धोका नदिन आग्रह गर्नुभयो । अर्धबार्षिक समीक्षामा १३ वटै तहले गरेका योजनाका बारेमा समीक्षा गरिएको थियो । समापन कार्यक्रममा नगर प्रमुखहरु, गाउँपालिका अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिना, उपप्रमुखहरु, उपाध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृतहरु, कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो । सभामा उपप्रमुख मञ्जु गौतम, जिल्ला सदस्यहरु, जिल्ला समन्वय अधिकारी सच्युतराज उप्रेती लगायतले जिल्ला समन्वय समितिले खेलिरहेको भूमिकाका बारेमा चर्चा गरेका थिए ।