2024 March 29/ 11:41: 43am

    नमोबुद्ध/नमोबुद्ध नगरपालिकामा भएको राजश्व चुहावटका विषयमा समाचार प्रकाशन भए पछि अख्तियारले कागजात नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ । यता नगरपालिकाले गठन गरेको छानविन समितिले अनियमिततामा संलग्न कर्मचारीहरुलाई बयान लिन शुरु गरेको छ । 
    प्राकृतिक श्रोतसँग सम्वन्धीत खानीजन्य सामाग्रीको राजश्व संकलनमा कर्मचारीहरुद्वारा करदातासँग तीन हजार लिएर एक हजार दाखिला गर्ने प्रमाण फेला परे सँगै समाचार प्रकाशन भएको थियो । लगत्तै नगरपालिकाले छानविन गर्न वडा अध्यक्ष रामकृष्ण अधिकारीको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । छानविन समितिमा रहेका सदस्यहरुको राजिनामा पछि पुनः कार्यपालिकाले अधिकारीकै संयोजकत्वमा सदस्य विस्तार गर्ने निर्णय गरेको थियो । अख्तियारद्वरा छापा मारी राजश्व संकलनमा प्रयोग भएका विल भरपाई, रसिद, बैंक दाखिला भौचर तथा अन्य कागजातहरु नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ । शुक्रबार छापा मारी कागजात नियन्त्रणमा लिए सँगै छानविन समितिका सदस्यहरु वडा अध्यक्ष धर्म सिं लामा र सञ्जीव ढकाल, सदस्य सचिव राजिव श्रेष्ठले राजिनामा दिएका छन् । राजिनामा दिएसँग अलमल्ल परेको छानविन समितिलाई आईतबार आकस्मिक बसेको बोर्ड बैठकले पुनः लेखा समिति सभापति रामकृष्ण अधिकारीको संयोजकत्वमा छानविन समितिलाई पूर्णता दिदै छानविनको अधिकार दिएको थियो । समितिमा वडा अध्यक्षहरु मेलबहादुर लामा, रामशरण हुमागाई र सदस्य सचिवमा विनोद रसाईली रहेका छन् । छानविन समितिले प्रारम्भिक अनुसन्धान शुरु गरेको छ । अनियमिततामा संलग्न कर्मचारीहरुलाई ‘वान टु वान’ बयान लिएको छ । बयानका क्रममा कर्मचारीहरु अधिकांशले इन्चार्ज कमल कुईकेललाई दोषि देखाएका छन् । 
    राजश्वकै विषयमा जनप्रतिनिधिहरु भोले सार्की र हर्के तामाङ बीच हात हालाहाल भएको छ । राजश्व छलेर सामाग्री लगेको विषयमा दुई जना बीच हात हालाहाल भएको हो । सार्वजनिक स्थानमा नै हात हालाहाल भए पछि स्थानीयहरुले दुबैलाई रोकेका थिए । एकले अर्काेलाई सामाग्री लैजाँदा राजश्व छलेको आरोप लगाएका थिए । राजश्व छल्नेहरुमा प्रमुख टिपी शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ देखि पहुँच राख्न सक्नेहरु पनि छन् । उनिहरुले पहुँचका आधारमा राजश्व नतिरी सामाग्री पठाउने गरेको खुलेको हो । नमोबुद्ध नगरपालिकामा भएको राजश्वमा दुई प्रकारबाट अनियमितता देखिएको छ । छानविन समितिले नमोबुद्ध नगरपालिका भित्र रहेका पाँचवटा क्रसरबाट साउन १ देखि माघ १५ गतेसम्म चलानी भएका सबै रेकर्डहरु उतारेको छ । 
एउटा राजश्व नै नतिर्ने र अर्काे तिरेको राजश्वमा अनियमितता गर्ने देखिएको हो । राजश्व नतिर्नेहरुमा ब्यवसायी, उद्योगी, जनप्रतिनिधि, कर्मचारी, प्रहरी लगायत छन् । स्थानीयहरुले राजश्व माथी धावा बोल्ने र अनियमितता गर्नेहरु सबैलाई कारवाहीको माग गरेका छन् । साउन देखि माघ १५ गतेसम्म झण्डै २ हजार ट्रिप राजश्व छलि भएको छ । नगरपालिकाको नेतृत्व आफै उक्त कार्यमा संलग्न देखिनुले अनियमिततालाई प्रश्रय दिएको पुष्टि भएको अख्तियार टोलीले जानकारी दिएको छ । अख्तियारले छानविनमा ६ जना कर्मचारीलाई मुख्य दोषिका रुपमा अनुसन्धान शुरु गरेको छ । इन्चार्जको रुपमा कार्यरत कर्मचारी कमल कुईकेल छानविनको दायरामा पहिलो नम्वरमा परेका छन् । राजश्व संकलन गर्दा भएको अनियमिततामा कर्मचारीहरुको इन्चार्जका रुपमा रहेका कुईकेलले अर्धकट्टिमा १ हजार लेखेर करदातालाई ३ हजार असुल गर्ने, कतिपयलाई १ हजार, २ हजार र ३ हजार लिएर पनि रसिद नदिने, झण्डै २ हजार भन्दा धेरै ट्रक राजश्व नतिरी बाहिर जान दिएको, बंैकमा दैनिक राजश्व दाखिला गर्नुपर्नेमा त्यस्तो नभएको, रसिद प्याडहरु ६ महिनाको एकैपटक कार्यालयमा बुझाएको जस्ता विषयमा अख्तियारले छानविन शुरु गरेको बताएको छ । राजश्व रकम दैनिक बैंकमा दाखिला गर्नुपर्ने हुन्छ । 
    समाचार प्रकाशन भएपछि गठन भएको छानविन समितिले कार्य शुरु गरेसँगै राजश्व संकलनमा कर्मचारीहरुलाई परिवर्तन गरेसँगै राजश्व संकलन दर दोब्बर भएको नगरपालिकाले जानकारी दिएको छ । पहिले मुस्किलले १ लाख संकलन हुने राजश्व अहिले दुई लाख नाघेको छ । नमोबुद्धमा संकलन हुने राजश्व बैंकमा दाखिला नभई विभिन्न शिर्षकमा खर्च हुने गरेको थियो । कर्मचारीहरुले तलब बाहेक खााना, खाजा, पानी समेत त्यहि रकमबाट खाने गरेका थिए । कर्मचारीका साथीहरु आउँदा देखि स्थानीय स्तरमा खटिएका प्रहरी प्रशासन, केहि जनप्रतिनिधिहरु र कार्यक्रममा सहभागी अतिथीहरु पनि त्यहि शिर्षकको रकमबाट खाजा खाने गरेका थिए । नगरपालिकाले कर्मचारीलाई दैनिक ५ सय रुपैयाँ रकम उपलब्ध गराउँदै आएको थियो । 
नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको सचिवालयबाट श्रीकृष्ण धितालले २ महिना अघि राजिनामा दिएका छन् । प्रकाश तिमल्सिना निजी सचिवका रुपमा कार्यरत छन् । निजी सचिवका रुपमा कार्यरत कमल कुईकेललाई कम्प्युटर अपरेटर हुँदै भुकम्प पछिको पुनर्निर्माणको डेक्स हेर्ने जिम्मेवारी दिईएको थियो । साउन १ गते देखि राजश्व संकलनका लागि सबै कर्मचारीहरुको ईन्चार्जको रुपमा जिम्मेवारी प्रदान गरिएको थियो । केहि समय नगर प्रमुखको घरमा नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारी राखिएको विषयमा पनि आलोचना भएको थियो । इट्टाभट्टा हटाउँदा २ करोड रकम प्रस्ताव हुँदा समेत नझुकेका नगर प्रमुखले ढाटमा संकलन भएको राजश्वमा किन मौनता साँधे ? कार्यकर्ताहरुले प्रश्न तेस्र्याएका छन् । अख्तियारले समेत यसको छानविन थालेकाले ६५ लाख जति रकम हिनामिना भएको राजश्वको चुहावट कस–कसले गरे ? सार्वजनिक हुनेछ । नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले राजश्व अनियमिततामा आफुलाई केहि जानकारी नभएको, आफ्नो संलग्नता नरहेको र जानकारी हुने वितिक्कै नगरपालिकाबाट छानविन समिति गठन गरी अनुसन्धान शुरु गरिएको जानकारी दिनुभयो । कर्मचारी कमल कुईकेलले अनियमिततामा आफ्नो संलग्नता नरहेको बताउँदै विश्वास गर्दा सहकर्मीहरुद्वारा धोका भएको बताए ।