2020 February 18/ 09:12: 51pm

खार्पाचोक, रोशी
साविक खार्पाचोक २ हाल रोशी गाउँपालिका वडा नम्वर ८ डिप्सामा रहेको नाङशाल ढुंगा रोडा उद्योग प्रा.लि.ले क्रसर संचालनका लागि विपी राजमार्ग ‘डाईभर्सन’ गरेको छ । सडक डाईभर्सन गर्ने क्रसरले खोला छेकेर डस्ट गोदाम गरेको छ । 
राजनीतिक दवाब र शक्तिको पहुँच देखाउँदै माघ ११ गते राजमार्ग डाईभर्सन गरेको क्रसरलाई सडक ऐन २०३१ अनुसार कारवाही हुने भए पनि हुन सकेको छैन । क्रसरकै कारण पटक–पटक उक्त क्षेत्रमा सुख्खा तथा वर्षातको समयमा पहिरो गई राजमार्ग अवरुद्ध हुँदै आएको थियो । नेपाली कांग्रेसबाट निर्वाचित पूर्व मन्त्री शंकर भण्डारी, पूर्व सभासद् तिर्थ लामा सहितको लगानी रहेको उक्त क्रसरले लगातार २०६४ माघ देखि नै राजमार्ग अवरोध गर्दा समेत कारवाही हुन सकेको छैन । ‘जिल्ला अनुगमन समितिको टोली हरेक वर्षको दुईपटक क्रसरमा पुग्छ, पत्र दिएर आउँछ, गाउँपालिकाले पनि पत्र काट्छ, सडक विभागले पनि पत्र काटेर मात्रै जाने गरेको छ’–स्थानीय सार्कीमान तामाङले भन्नुभयो–‘क्रसरले राष्ट्रियराजमार्ग अवरोध पु¥याउँदा क्रसर संचालकलाई कारवाही हुँदैन ।’ सडक डाईभर्सनकै कारण दुर्घटना मात्रै हुने गरेको छैन राज्यको अरबौको क्षति भएको छ । जापान सरकारको लगानीमा निर्माण भएको सडक अतिक्रमणका बारेमा आयोजनालाई प्रश्न तेस्याईएको छ । 
    ‘राजमार्ग नै अवरुद्ध गरेर डाईभर्सन गरेको विषयमा क्रसर संचालकहरुलाई कारवाहीको चेतावनी सहित स्पष्टिकरण सोधिएको छ’–सुर्यविनायक–धुलिखेल–सिन्धुली बर्दिवास सडक आयोजनाका प्रमुख सूर्य भाटले भन्नुभयो–‘कसैले पनि सडक अतिक्रमण गरी अनाधिकृत रुपमा प्रयोग गर्न पाउँदैन, नाङशाल ढुंगा रोडा उद्योगले माघ ११ गते सडक डाईभर्सन गरेको सूचनाका आधारमा माघ १९ गते पत्र काटिएको छ ।’ सडक डाईभर्सन गर्न अनुमति नदिएको उहाँले बताउनु भयो । भाटले अध्ययन पछि कारवाही प्रकृया अगाडि बढाईने बताउनु भयो । क्रसरमा प्रयोग भएका मेशिनहरुका कारण हिउँदमा समेत सुख्खा पहिरो जाँदा विपी राजमार्ग अवरुद्ध भएको हो । माघ २६ गते राति पहिरो जानु अघि माघ ११ गते रोशी खोलामा क्रसर बैकल्पिक सडक निर्माण गरिएको थियो । २०७६ असार २६ गते देखि परेको अविरल बर्षातका कारण पहिरो गई डस्ट बगाउँदा राजमार्ग अवरुद्ध भएको थियो । पूर्व माननीयहरु तीर्थ लामा, शंकर भण्डारी सहितको लगानीमा संचालन भएको क्रसर उद्योगका कारण विपी राजमार्ग माघ ११ गते देखि अवरुद्ध छ । उद्योगको उद्घाटन भण्डारीले नै गर्नु भएको संचालक वाङचु लामाले बताउनु भयो । 
    खानी तथा क्रसरमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति एवं पुर्व सांसद तीर्थ लामाको २२ प्रतिशत, ग्राण्डी अस्पतालका संचालक दिपक कुँवरको ६३ प्रतिशत (सोहि प्रतिशतमा नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री शंकर भण्डारीको पनि शेयर छ ।), तीर्थ लामाका भाई नानीबाबु लामा २ प्रतिशत, नेकपा नेता सुजन लामा २ प्रतिशत, भिम लामा ५ प्रतिशत, सेराप लामा १ प्रतिशत, वाङचु लामा ४ प्रतिशत शेयर छ । उद्योग संचालक वाङचु लामाले उद्योगका कारण पहिरो नगएको बताउँदै उक्त जग्गा ब्यक्तिका नाममा रहेको बताउनु भयो । क्रसरसँगै जोडिएको कुवेर सिं लामाको नाममा रहेको जग्गा संचालक सेराप लामाको बाबुको हो । २०६४ माघ देखि शुरु भएको क्रसरले पटक पटक सडकमा अवरोध पु¥याएको भन्दै कारवाहीका लागि पत्र काटिएको थियो । तत्कालिन प्रहरी प्रमुख एसपी पुजा सिंहले २०७२ सालमै उक्त उद्योगमा संचालन भईरहेको स्काभेटरको चावी थुतेर कारवाही प्रकृया अगाडि बढाउनु भएको थियो । राजनीतिक दबाबका कारण कारवाही नभई निरन्तर संचालन भएका कारण उक्त स्थानमा पहिरो गएको हो । संचालक वाङचुले स्थानीयको अनुरोधमा दुर्घटना नहोस् भन्ने उद्देश्यले सडक डाईभर्सन गरेको बताउनु भयो । खोलामा थुपारिएको डस्ट आफ्नै जमिनमा पर्ने उहाँले बताउनु भयो । क्रसरको २ सय रोपनी भन्दा धेरै जमिन छ । 
    गाउँपालिका अध्यक्ष डिबी लामाले क्रसर तथा खानीहरुका कारण उत्पन्न समस्या समाधानका लागि पटक पटक छलफल गरेको बताउनु भयो । स्थानीयहरुले उजुरी दिएका आधारमा भएको छलफलमा वातावरण मैत्री उद्योग संचालन गर्ने प्रतिवद्धता ब्यक्त गरेको उहाँले बताउनु भयो । २०६६ साल असोज ६ गते घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरिएको उद्योगले बार्षिक १ करोड २८ लाख २० हजार  क्युफिट रोडा, ढुगा उत्पादन गर्ने भने पनि चालु वर्षमा उद्योग नै नविकरण भएको छैन । जिल्ला अनुगमन समितिले उद्योगले पु¥याएको क्षतिका बारेमा निर्णय गरेको छैन । आयोजनाका सुपरभाईजर रामकृष्ण खनालले क्रसरकै कारण उक्त क्षेत्रमा पहिरो जाँदा सडक अवरुद्ध भएको बताउनु भयो ।