2020 July 04/ 01:41: 36am

धुलिखेल/भुकम्पले क्षति पु-याएका निजी आवासहरुको पुनर्निर्माण कार्य तिब्र रुपमा भईरहेको छ । २०७७ भित्र पुनर्निर्माणको कार्य सम्पन्न गर्ने तयारी गरेसँगै जिल्ला आयोजना कार्यान्वयन इकाई काभ्रेले निजी आवास निर्माणलाई तिब्र बनाएको हो । 
‘जिल्लाको विकट क्षेत्र महाभारत र खानीखोलाबाट हामीले अनुगमन शुरु गरेका छौं’–जिल्ला आयोजना कार्यान्वयन इकाई काभ्रेका प्रमुख सागर आचार्यले भन्नुभयो–‘स्थानीय सरकारको सहयोगमा १५ दिनभित्र लगत संकलन गरी एकिन गर्ने र अनुदान लिएर पुनर्निर्माण नगर्नेहरुलाई अनुदान रकम फिर्ताका लागि अभियान चलाउने छौं ।’ स्थानीय जनप्रतिनिधिहरुले निजी आवास निर्माणमा चासो नराख्नेहरुलाई अल्टिमेटम सहित खबरदारी गर्ने योेजना बनाएको महाभारत गाउँपालिकामा अध्यक्ष कान्छालाल जिम्बाले बताउनु भयो । पहिलो किस्ता लिनेहरु मध्ये अधिकांशले दोश्रो किस्ता लिन नआए कारवाही गर्ने तयारी स्वरुप स्थानीय सरकार मार्फत लगत संकलन शुरु भएको छ । जिल्लामा ९८ हजार १९ परिवार लाभग्राहिको सूचीमा समावेश भएका थिए । २५ हजार ३ सय ४० जनाले गुनासो दर्ता गराएकोमा २३ हजार ४ सय ८९ जनाको गुनासो सम्बोधन भएको छ । लाभग्राहि मध्ये ७३ हजार ३ सयले पहिलो किस्ता बापतको रकम लिएका छन् भने दोश्रो किस्ता लिनेहरुको संख्या ५८ हजार ४ सय ८३ रहेको छ । लाभग्राहिको सूचीमा परेका ८ प्रतिशतले सम्झौता नै गरेनन् । प्राधिकरणले त्यस्ता लाभग्राहिलाई सूचीबाट हटाउने निर्णय गरेपनि स्थानीय सरकारको सिफारिस नआएका कारण हटाउन नसकेको जानकारी दिएको छ । लाभग्राहिहरु मध्ये निर्माण कार्य सम्पन्न भएका ४८ हजार २ सय १३ जनाले तेश्रो किस्ता लिएका छन् । जसको प्रतिशत ५८ रहेको छ । 

किस्ता नपाएको गुनासो
भुकम्पले क्षति पु-याएका निजी आवासहरु पुनर्निर्माण गर्ने अभियान चलिरहँदा अझै पीडितहरुले राहत नपाएको गुनासो सम्बोधन हुन सकेको छैन । विकट क्षेत्र महाभारत लगायतका विभिन्न स्थानमा रहेका पीडितहरुले पुनर्निर्माण भएको दुई वर्ष वितिसक्दा समेत भुक्तानी नपाएको गुनासो गरेका छन् । 
सरकारले २०७७ आषाढ भित्र पुनर्निर्माणका सबै संरचनाहरु निर्माण सक्ने लक्ष्य लिएको छ । जिल्लामा निजी आवाससँगै विद्यालय, स्वास्थ्य चौकी, प्रहरी, सरकारी निकायका अन्य संरचनाहरु निर्माण भईरहेका छन् । निजी आवासका लागि प्रबलिकरणको कार्यलाई तिब्रता दिए पनि पूर्णता पाउन सकेको छैन । लाभग्राहिमा छुट भएका पीडितहरुले अझै अनुदान पाउन सकेका छैनन् । पहिलो किस्ता अनुदान लिएका लाभग्राहिहरुले दोश्रो किस्ता लिएका छैनन् भने दोश्रो किस्ता लिनेहरुले तेश्रो किस्ताका लागि प्रकृया शुरु गरेका छैनन् । केहि लाभग्राहि हुनबाटै छुटेका छन् भने लाभग्राहि भएर पनि पुनर्निर्माण नगर्नेहरुको संख्या धेरै रहेको जिल्ला आयोजना कार्यान्वयन इकाई काभ्रेका प्रमुख सागर आचार्यले बताउनु भयो । 
महाभारत गाउँपालिका वडा नम्वर ४ फोक्सिंटारका कृष्ण दोङ्गले पुनर्निर्माण सम्पन्न गर्नु भएको द्ुई वर्ष वितिसक्दा पनि अनुदान रकम प्राप्त गर्नु भएको छैन । पहिलो किस्ता ५० हजार लिएका कृष्णले घर निर्माण सक्दा समेत भुक्तानी हुन नसकेको उहाँले बताउनु भयो । ‘हामीले पुनर्निर्माणको मापदण्ड भित्र रहेरै निर्माण सम्पन्न गरेका हौं तर अझै भुक्तानी हुन सकेको छैन’–उहाँले भन्नुभयो । प्राविधिकले बीचमा पिल्लर नभएका कारण भुक्तानी नगरेको जानकारी गराएको थियो । तर कहिल्यै महाभारत क्षेत्रमा पुनर्निर्माणको समयमा प्राविधिक नपुगेको कृष्णले बताउनुभयो । कृष्णले बैदेशिक रोजगारबाट ल्याएको रकमले घर बनाए पनि ऋण तिर्न सक्नु भएको छैन । पटक–पटक उहाँले गाउँपालिका, वडा कार्यालय र सम्वन्धित निकायमा भुक्तानीका लागि अनुरोेध गरे पनि रकम पाउन सक्नु भएको छैन । दोङ्ग जस्ता डाँडापारी क्षेत्रमा धेरै पीडितहरुले पुनर्निर्माण गरिसक्दा पनि रकम भुक्तानी हुन सकेका छैन । छोईसाङ्ग दोङ्ग, पञ्चमाया दोङ्ग लगायतले अझै भुक्तानी प्राप्त गर्न नसकेको बताउनु भएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख सागर आचार्यले आफुलाई अनुदान नपाएको जानकारी नआएको बताउनु भयो । ‘जिल्लामा त्यस्तो गुनासो रहन दिएको छैन, छ भने खबर पाउँ तुरुन्तै समस्या समाधान हुन्छ’–आचार्यले भन्नुभयो । 

प्रबलीकरण प्रभावकारी भएन
    पुनर्निर्माण सम्पन्न हुन लागेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रबलीकरणमा जोड दिएको छ । अधिकांशले ढुंगामाटोको घर प्रबलीकरणका लागि चासो देखाएका छैनन् । जिल्लाका विभिन्न स्थानमा भुकम्पले चिरा चिरा पारेका घरहरु अझै ठिङ्ग उभिएका छन् । नयाँ निर्माण गरे पनि पुरानै धराप घरको संरचना बाँकी राखेका छन् । सम्झौतामा पुरानो संरचना भत्काएर नयाँ निर्माण गर्ने भने पनि त्यस्तो हुन सकेको छैन । त्यहि संरचनाका कारण पुनः थप जनधनको क्षति हुने सम्भावना छ । 
    महाभारत गाउँपालिका वडा नम्वर ७ बनखु आहालेमा भुकम्पले चिरा चिरा पारेको घरमा कुखुरा र पशुपालन गरिएको छ । पशुपालनको रेखदेखमा जाँदा जुनसुकै बेला क्षति हुन सक्ने सम्भावनालाई कसैले पनि हटाउन खोजेको छैन ।