2020 January 18/ 03:15: 23pm

महाभारत, बनखु/विकटताबाट समृद्धतर्फ उन्मुख महाभारत गाउँपालिकामा जनप्रतिनिधिहरुको उपस्थितिले पूर्वाधार निर्माणमा फड्को मारेको छ । सडक, खानोपानी, सरकारी संयन्त्रका पूर्वाधारहरु, इलाका प्रशासन, वडा कार्यालय, स्वास्थ्य क्षेत्रमा समेत गाउँपालिकाले प्रदेश र संघ सरकारको समन्वयमा प्रभावकारी रुपमा कार्य अगाडी बढाएको छ । 
साविक बुढाखानी गाविसको कार्यालय निर्माणका लागि तत्कालिन पुर्वाधार कार्यालयले खर्च गरेको ४० लाख रुपैयाँ बालुवामा पानी सरह भयो । उक्त अलपत्र भवनलाई छाडेर सोहि स्थानमा अहिले प्रदेश सरकारको विशेष अनुदान मार्फत वडा कार्यालय निर्माण सम्पन्न भएको छ । गाउँपालिकाले वडा नम्वर २, ३, ५ र ७ को वडा भवनका लागि जनही ४४ लाखका दरले रकम विनियोजन गरेको छ । सोहि कोषबाट गाउँपालिकाले अस्थायी संरचनाका लागि प्रिफ्याबको ४ वटा ४ कोठे भवन निर्माण गरेको छ । गाउँपालिकाले जिल्ला समन्वय समितिको कोषबाट प्राप्त रकम र गाउँपालिकाको साझेदारी कोेषबाट वडा नम्वर १,४,६ र ८ नम्वर वडा कार्यालय निर्माण गर्नेछ । चालु वर्ष भित्रै सबै वडाहरुको भवन निर्माण कार्य सम्पन्न गर्ने गरी गाउँपालिकाले बजेट विनियोजन गरेको अध्यक्ष कान्छालाल जिम्बाले बताउनु भयो । केहि वडा कार्यालयका भवनहरुको निर्माण कार्य सम्पन्न भई सकेको छ भने केहिले निर्माण कार्य शुरु गरेका छन् । केन्द्र सरकारको ७० प्रतिशत अनुदान र गाउँपालिकाको ३० प्रतिशत लगानीमा गाउँपालिकाको सुविधा सम्पन्न ५ करोडको भवन निर्माण हुँदैछ । 
विशेष अनुदानबाट गाउँपालिकाले ९५ लाख रुपैयाँ खर्च गरी मुल सडक निर्माण गरिरहेको छ । तीनखुट्टे खोलाघारी देखि घ्याम्वरिङ्ग जोड्ने मुल सडक ५० मिटर ट्र¥याक खोल्न बाँकी छ । साँढे १० किलो मिटर सडक उक्त रकमबाट निर्माण भएको छ । गोकुले जाने सडक गल्टारबाट महादेवटार हुँदै घर्तिछापबाट ८ मिटर फराकिलो पार्ने गरी ५० लाखमा स्तरोन्नति भएको छ । राङचा उठाउने गाताबेशी हुँदै गोकुले जाने सडक स्तरोन्नतीका लागि ७० लाख खर्च भएको छ । भुवनेश्वरी आधारभुत विद्यालय घुँडे बेतिनी बनखु सडकका लागि २० लाख खर्च भएको छ । विद्यालयसम्म सडक नपुगेकै कारण गौरी निमावि वडा नम्वर ५ र दिव्यज्योती प्राथमिक विद्यालयको भवन पुनर्निर्माण हुन सकेको छैन । विद्यालय भवन निर्माणका लागि ४ घण्टाको दुरीमा सामान बोकेर लगेको विद्यालयमा शौचालय निर्माण हुन सकेको छैन । पूर्वाधारका हिसावले विद्यालय पहिलो नम्वरमा निर्माण भईरहेको छ । 
सडक सञ्जाल जोडिएसँग डाँडापारीका महाभारत गाउँपालिकमा उत्पादन हुने दुध, दुधजन्य सामाग्रीहरु, खसी बोका, स्थानीय स्तरमा उत्पादन भएका कुखरा लगायतका अन्य अन्नपात, तरकारी, विउ विजनहरु सहज रुपमा शहरमा प्रवेश गर्न थालेका छन् । जसका कारण बैदेशिक रोजगार एकमात्र बिकल्प भएको महाभारतका सबै वडाहरुमा सडक सञ्जालकै कारण रोजगारको अवसर सिर्जना भएको छ । विकटतामा रहेको महाभारत समृद्धसँगै सुगमतातिर बढिरहेको छ । बस सेवा नियमित संचालनमा आएका कारण अधिकांशलाई सहज भएको छ । गाउँपालिकाले एम्बुलेन्स सेवालाई पनि प्राथमिकतामा राखेको अध्यक्ष जिम्बाले बताउनु भयो । झण्डै एक अर्ब बराबरको विद्युतिकरणको कार्य पनि शुरु भएको छ ।