2024 April 26/ 04:42: 06am

    धुलिखेल/घरेलु तथा साना उद्योग कार्यालय धुलिखेलले आर्थिक वर्ष २०७५÷०७६ मा ९ सय २७ जनालाई सीप विकास तालिम प्रदान गरेको छ भने १ सय २३ जनालाई प्रविधि हस्तान्तरण गरेको छ । स्थानीय तहहरुले पनि हरेक वर्ष झण्डै ३ सय भन्दा धेरै ब्यक्तिहरुलाई विभिन्न किसिमको सीप दिने गरेका छन् । सीप लिएका अधिकांश ब्यक्तिहरु बेरोजगार बन्ने गरेका छन् । 
    धुलिखेल नगरपालिका र ग्लोबल इष्टिच्युट अफ होटल म्यानेजमेन्टद्वारा संयुक्त रुपमा संचालन गरिएको वेटर र हाउस किपिङ सम्बन्धि तालिममा सहभागीहरुलाई रोजगारीको अवसर उपलब्ध गराउने होटल एसोसिएसनका सदस्यहरुले जानकारी गराउनु भएको छ । धुलिखेलमा रहेका अधिकांश होटलहरुलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गरी रोजगार उपलब्ध गराउँदा नगरपालिकाले होटलहरुसँग लिदै आएको राजश्वमा समेत छुट गर्नेछ । नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल भित्रका नागरिकहरुलाई रोजगारको अवसर दिने होटल तथा उद्योगहरुलाई नगरपालिकाले लिदै आएको करमा सहुलियत दिने बताउनु भयो । उक्त तालिममा झण्डै ४० जना सहभागी भएका थिए । धुलिखेल नगरपालिकाले विभिन्न क्षेत्रको तालिम उपलब्ध गराउँदै रोजगारको अवसर सिर्जना गरेको छ । २ वर्षको बीचमा नगरपालिकाले ४ सय ६० जनालाई सक्षम बनाई आत्मनिर्भर बनाएको छ । 
    धुलिखेल जस्तै अन्य पालिकाहरुले पनि विभिन्न क्षेत्रको तालिम उपलब्ध गराउँदै नागरिकहरुलाई दक्ष र आत्मनिर्भर बनाएका छन् । बार्षिक एउटा पालिकामा २ सय भन्दा धेरै ब्यक्तिहरुले विभिन्न प्रकारका सीप लिईरहेका छन् । तर स्थानीय सरकारले आफुसँग सीप लिने ब्यक्तिहरुको अवस्था, उनिहरुलाई भएको समस्या र  उद्योग तथा ब्यवसायमा सहयोग गर्न सक्ने आधारहरुका बारेमा खोजी गरेको छैन । सीप लिएर कोहि विदेशिएका छन् भने कोहि बेरोजगार छन् । कोहि आत्मनिर्भर बन्ने प्रयासमा छन् । बार्षिक ५ हजार ब्यक्तिहरुले कुनै न कुनै स्थानबाट फरक फरक विद्याको तालिम लिईरहेका छन् । तालिम प्राप्त गर्नेहरुको सुची र ब्यक्तिगत विवरण कुनै निकायले अपडेट गरेका छैनन् । 
घरेलुबाट ९ सय २७ 
    घरेलु तथा साना उद्योग कार्यालय मार्फत उद्यमशीलता तालिम १ सय ९७ जनाले प्राप्त गरेका छन् जसमा महिलाको संख्या १ सय ८२ रहेको छ भने १५ जना मात्रै पुरुष रहेका छन् । दलित वर्गका लागि उपलब्ध गराईएको सीप विकास तालिममा १ सय ९ जना महिला र ३ जना पुरुष गरी १ सय १२ जना सहभागी भए । सीप विकास तालिममा १ सय ७७ जना महिला र ३५ जना पुरुष गरी २ सय १२ जना सहभागी भए । सीप विकास अन्तर्गत विभिन्न क्षेत्रको तालिम उपलब्ध गराईएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत नयाँ उद्यमी सिर्जना कार्यक्रममा ३ सय ४४ जना महिला सहभागी भएका छन् भने ६२ जना पुरुष गरी ४ सय ६ जना सहभागी भएका छन् । 
    कार्यालय उपलब्ध गराएको तालिममा एक वर्षमा ८ सय १२ महिला र १ सय १५ पुरुष गरी ९ सय २७ जना सहभागी भएका हुन् । हरेक वर्ष तालिम प्रदान गरिएका ब्यक्तिहरुले उद्यम गरेका छन् कि छैनन् ? वा कस्तो अवस्थामा छन् ? स्वदेशमा छन् कि विदेशमा छन् ? आर्थिक अवस्था र श्रोतको अवस्था के छ ? दोहोरो तालिम कति जनाले प्राप्त गरे ? तालिम पश्चात उद्योग गर्नलाई अरु कुनै समस्या छ कि ? कार्यालयले रेकर्ड राख्न सकेको छैन । हरेक वर्ष यस्ता तालिम र प्रविधि उपलब्ध गराउने त्यसको लेखाजोखा नराख्दा तालिमका प्रभावकारीता कम हुँदै गएको छ ।     संघ सरकारले उपलब्ध गराएको लघु, घरेलु  तथा साना उद्यमी प्रविधि ४९ जनाले प्राप्त गरेका छन् । जसमा २९ महिला र २० पुरुष छन् । सोहि कार्यक्रममा प्रदेश सरकारले ११ जनालाई उपलब्ध गरायो । ३ महिला र ८ पुरुषले उक्त प्रविधि प्राप्त गरे । नियमित सीप विकास तालिमतर्फ २३ जना महिला र १५ जना पुरुषले उक्त प्रविधि प्राप्त गरे भने गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रममा २२ महिला र ३ पुरुषले उक्त प्रविधि प्राप्त गरे । जिल्लामा ७७ महिला र ४६ पुरुष समेत गरी १ सय २३ ले उक्त प्रविधि प्राप्त गरेका छन् । तालिम र प्रविधि प्राप्त गर्नेमा अधिकांश महिला छन् । महिलाहरुलाई उद्यमी र रोजगार बनाउने उदेश्यले उक्त कार्यक्रम कार्यान्वयन भएको हो । 
    तालिम र प्रविधिको प्रयोग भएको छ कि छैन नियमित अनुगमन गर्नुपर्ने सरोकारवालाहरु बताएका छन् । उद्योग अधिकृत केशवप्रसाद पुडासैनीले कार्यालयले प्रदान गर्ने उद्योग प्रशासन, बाणिज्य प्रशासन र तालिम प्रशासनका महत्वपूर्ण कार्यहरु गतवर्ष सम्पन्न भएको बताउनु भयो । उद्योग अधिकृत पुडासैनीले चालु वर्षमा दलित लक्षित सीप बिकास कार्यक्रम प्रर्वद्धन तथा सीप बिकास कार्यक्रम प्रबिधि हतान्तरण, लघु घरेलु तथा साना उद्योगको उपजहरु बिक्री कक्ष निर्माण, कोल्डचेन सहित बधशाला निर्माणमा मेशिनरी सहयोग, दुग्ध उत्पादन उद्योगलाई मेशिनरी सहयोग, नव उद्यमीहरुकालागी उद्योग विकास सहयोग कार्यक्रम, गरिबी निवारणको निमित्त लघु उद्यम विकास कार्यक्रम लगायत रहेको बताउनु भयो । त्यस्तै उपभोक्ता हक अधिकार संरक्षण तथा प्रबद्र्धन कार्यक्रम, ब्यापार तथा ब्यबसाय प्रबद्र्धनका लागि नवउद्यमी तथा ब्यबसायीहरुलाई बजार तथा ब्यबसाय विकास उत्प्रेरणा तालिम र नियमित बजार तथा उद्योग अनुगमन रहेको पुडासैनीले बताउनु भयो । 
उद्योग दिवस मनाईयो
    ‘उद्योग र पूर्वाधारः समृद्धिको आधार’ भन्ने नाराका साथ पाँचौ उद्योग दिवस बनेपामा आयोजना गरिएको छ । बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुले उद्योगमैत्री वातावरण बनाउन आग्रह गरेका थिए । घरेलु तथा साना उद्योग कार्यालय धुलिखेलको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाको संयोजनमा आयोजना गरिएको कार्यक्रममा बोल्दै नगर प्रमुख बादेले नगरपालिकाले नगर भित्र स्थापना हुने उद्योगलाई सहुलियत र उद्योग मैत्री वातावरण बनाउन सहयोग पु¥याउने बताउनु भयो । 
    सबै उद्योगहरु नगरपालिकामा सुचिकृत हुँदा सहज र सरल हुने बताउँदै नगर प्रमुख बादेले सीप सिकेर उद्यम गर्न अनुरोध गर्नुभयो । घरेलु तथा साना उद्योग कार्यालय काभ्रेका प्रमुख केशवप्रसाद पुडासैनी अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, जिल्ला अध्यक्ष प्रकाश मानन्धर, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, पतञ्जली योग समितिका प्रदेश ३ का अध्यक्ष ग्रुवेन तौजले, नेपाल घरेलुु तथा साना उद्योग महासंघका अध्यक्ष सुवासना श्रेष्ठ, पूर्व अध्यक्ष भवानी जोशी, चण्डेश्वरी बृद्धाश्रमका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, काभ्रे उद्योग बाणिज्य संघका उपाध्यक्ष राजेन्द्र पसंक्षे, जिल्ला लघु उद्यम समुहका अध्यक्ष मदन मंग्रान्ती, दिगो उद्यम विकासका कृष्ण विक लगायतले मन्तब्य राखेका थिए । काभ्रेमा १२ हजार उद्योग दर्ता भएका छन् । गत आर्थिक वर्षमा मात्रै ९ सय २७ जनाले उद्योग कार्यालयबाट तालिम लिएका छन् । उद्योग दिवसका अवसरमा बनेपामा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । महिला उद्यमीहरुको विशेष उपस्थिती रहेको कार्यक्रममा सहभागीहरुले उद्योग मैत्री वातावरण बनाउन सुझाव दिएका थिए ।