2024 March 29/ 01:02: 42pm

   धुलिखेल/जिल्लाका सबै नागरिकहरुले स्वास्थ्य सेवामा सहज पहुँच राख्ने गरी स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको छ । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीलाई पहिलो सदस्यता प्रदान गरी बीमा कार्यक्रमको शुभारम्भ गरिएको हो । 
    दोश्रो सदस्यता पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले प्राप्त गरेका छन् भने तेश्रो सदस्यता मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवाले प्राप्त गरे । चौथो सदस्यता बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादेले  प्राप्त गरेका थिए । सदस्यता शुभारम्भ कार्यक्रममा पाँचौ नम्वरको सदस्यता बनेपा नगरपालिकाका उपप्रमुख रेखा सापकोटा दाहालले प्राप्त गरिन् । नेपाल सरकारले सबै नागरिकहरुको स्वास्थ्यमा पहुँच पु¥याउने उदेश्यले पहिलो चरणमा बीमा मार्फत अभियान शुरु गरेको हो । काभ्रेपलाञ्चोक जिल्ला ४८ औ जिल्ला हो । गुणस्तरीय स्वास्थ्य सेवामा प्रभाव पार्ने, आर्थिक जोखिम न्यूनिकरण गर्ने, नागरिक प्रति उत्तरदायित्व बहन गर्ने उद्देश्यले उक्त कार्यक्रम शुरु गरिएको हो । नेपालमा ५१ लाख ५० हजार नागरिकले बीमा कार्यक्रममा भाग लिएका छन् भने दोश्रो वर्षको नविकरणमा ७५ प्रतिशतको मात्रै सहभागिता रहेको छ । ६ लाख घर परिवार सहभागी भएको उक्त कार्यक्रममा ५ जना सदस्य बराबर एक परिवारका रुपले बार्षिक ३५ सय रुपैयाँ तोकिएको छ । प्रति परिवार ५ जना भन्दा बढी सदस्य भए प्रति थप सदस्यको ७ सयका दरले रकम तिर्नुपर्ने छ । बीमा गरे पछि बहिरङ्ग, अन्तरंङ्ग र आकस्मिक कक्षबाट प्रदान गरिने सेवाहरु उपलब्ध हुनेछन् भने ५ जनासम्मको परिवारले आवश्यक पर्दा बार्षिक रु १ लाख सम्मको स्वास्थ्य सेवा उपभोग गर्न पाउनेछन् । ५ जना भन्दा धेरै सदस्य भएको हकमा प्रति सदस्य २० हजारका दरले अधिकतम २ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा उपभोग गर्न पाउनेछ । 
    सदस्यता शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन सुझाव दिए । सेवा प्रभावकारी बनाउन सकिएन भने बीमा प्रति नागरिकको विश्वास र चासो कम हुने बताए । मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवाले स्थानीय नागरिकहरुको स्वास्थ्यमा ध्यान पु-याउन विपन्न नागरिकहरुको समेत पहुँच पुग्ने गरी प्रभावकारी बनाउन सुझाव दिए । नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनाले कार्यक्रमलाई प्रभावकारी बनाउन नागरिकहरुको विश्वास जित्नु पर्ने बताए । बीमा कार्यक्रममा गरिब परिचयपत्र प्राप्त गरेका, ७० वर्ष भन्दा माथी उमेरका ब्यक्तिहरुको हकमा सुविधा रहेको छ । बीमाका लागि सबै स्थानीय तहमा बीमा सहयोगी कार्यकर्ता छनौट गरी तालिम समेत प्रदान गरी खटाई सकिएको छ । बीमा कार्यान्वयन शुरु भएको मितिले एक वर्षको अवधी रहनेछ । असोजसम्म बीमा गरिएका ब्यक्तिले मंसिर १ गतेबाट सेवा प्राप्त गर्नेछन् भने पुषसम्म बीमा गर्नेले फागुन १ गतेबाट र चैत्रसम्म बीमा गर्नेले जेष्ठ १ गतेबाट सेवा प्राप्त गर्नेछ । असारसम्म बीमा गर्नेले भदौ १ गतेबाट सेवा प्राप्त गर्ने ब्यवस्था मिलाएको छ ।