2019 October 17/ 01:07: 25am

धुलिखेलमा विषादी परिक्षण प्रयोगशाला
    धुलिखेल/प्रदेश सरकारले चालु वर्षमा १० वटा विग फार्र्म स्थापना गर्ने गरी प्रति फार्म १ करोड बजेट विनियोजन गरेको छ । 
    चारसय रोपनी क्षेत्रफलमा हेलिप्याड सहितको फार्म स्थापना गरी आधुनिक र ब्यवसायीक खेति शुरुवात गर्न बहुबर्षीय फार्म शुरु गर्न लागिएको हो । उक्त फार्मलाई आवश्यक पर्न सबै प्रकारका पुर्वाधार निर्माण गर्न आवश्यक रकम उपलब्ध गराईनेछ । साथै सोहि फार्मबाट विभिन्न प्रकारका कृषि तथा पशु उपजहरुको उत्पादनहरु गरिनेछ । काभ्रे र सिन्धुपाल्चोकमा मात्रै तीनवटा फार्म स्थापना गरिने प्रदेश मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले बताए । यसअघि सिन्धुलीको दुधौलीमा १ सय २१ विगाहा र  चितवनको माडीमा १ सय विगामा सामुहिक खेति शुरु गरिएको छ । सामुहिक खेति नुवाकोट र इन्द्रावती गाउँपालिकामा चालु वर्षमा शुरु गरिदै छ । सिंचाई, सडक, बत्ति, मेशिनरी, पर्यटन कृषि र अन्य कार्यक्रमहरु पनि सोहि फार्ममा संचालन हुनेछ । उत्पादन धेरै दिने ब्यवसायीक फार्ममा लगानी गरी आर्गानिक उत्पादनमा जोड दिने उद्देश्य रहेको उनले बताए । मन्त्रालयका प्रमुख सल्लाहकार लालकुमार केसीले गुणस्तर उत्पादन कसरी बढाउने ? भन्ने योजनाका साथ कार्यक्रम ल्याएको बताए । प्रदेश ३ ले कृषिमा नयाँ मोडालिटी सहित जिल्ला जिल्लामा एकिकृत कार्यक्रम संचालन गरिएको बताउँदै ६६ वटा निर्वाचन क्षेत्रमा एक निर्वाचन क्षेत्र एक नमुना कृषि क्षेत्र बनाउन बजेट विनियोजन गरेको जानकारी दिए । 
    निर्वाचन क्षेत्र स्तर कार्यक्रम विस्तार भए सँगै पालिका स्तरमा एक बाली एक पालिका कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ । साझोदारीमा कृषि फार्म संचालन गर्ने गरी समेत कार्यक्रम शुरु गरिएको छ । प्रदेश सकारले ५०÷५० लाखको जिल्लामा २ वटा नर्सरी स्थापनाका लागि बजेट विनियोजन गरेको छ । कोशिपारी र कोशिवारीमा उक्त नर्सरी स्थापना हुनेछ । त्यस्तै ट्राउट माछाका लागि ५०÷५० लाखको २ वटा कार्यक्रम संचालन हुनेछ भने कालिज, लोकल कुखुरा, बँदेल पालनका लागि विशेष कार्यक्रम संचालन हुनेछ । कृषकहरुले प्राप्त गर्ने अनुदान सबै कृषकले कृषि विकास बैंक मार्फत प्राप्त गर्ने गरी तयारी भएको छ । कृषिलाई सिमान्तकृत, मझौला र  ठुला गरी तीन किसिममा बर्गिकरण गरी कार्यक्रम संचालन गर्ने तयारी भएको छ । सबै सांसदहरुलाई जिम्मेवार बनाउने गरी एक निर्वाचन क्षेत्र एक फार्म र एक पालिका एक बालीको अवधारणा ल्याईएको सल्लाहकार लालकुमार केसीले बताए । 

विषादी प्रयोगशाला संचालनमा
    कृषि ज्ञान केन्द्र धुलिखेलमा द्रुत विषादी अवशेष परिक्षण प्रयोगशाला स्थापना गरिएको छ । प्रदेशका कृषि मन्त्रालयका सचिव डा.योगेन्द्रकुमार कार्कीले एक कार्यक्रमका बीच प्रयोगशाला उद्घाटन गरी विषादीको अवस्थाका बारेमा जानकारी लिएका थिए । जिल्लामा आर्थिक वर्ष २०७३÷०७४ मा मात्र ७२.५ मेट्रिक टन रासायनिक विषादी खपत हुँद आएको कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख डा. जनार्दन खड्काले जानकारी दिए । प्रदेश सरकारको सहयोगमा उक्त प्रयोगशाला स्थापना भएको हो । कृषि उपजहरुको अवशेष परीक्षण गरी खान योग्य र अयोग्य उत्पादन छुट्याएर उपभोग गर्न जनचेतना फैलाउने र कृषि उपजहरु परिक्षण पछि मात्रै प्रयोग गर्न द्रुत विषादी अवशेष परिक्षण शुरु गरिएको हो । यो प्रयोगशालाको प्रविधि पहिलो पटक ताईवानबाट शुरु भएको हो । छोटो समयमा चुस्त तरिकाले कृषि उपजहरुमा भएको विषादीको अवशेष मापन गर्न सक्नु नै यो प्रविधिको विशेषता हो । प्रयोगशाला स्थापना भएपछि ब्यवसायीक उत्पादन हुने स्थानबाट तरकारीका नमुना संकलन गरेर अवशेष मापन गरी कृषकलाई सुरक्षित उत्पादन गर्न प्रोत्साहन दिने लक्ष्य रहेको ज्ञान केन्द्र प्रमुख खड्काले बताए । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्ला लगायत छिमेकी जिल्लाहरुमा उत्पादित कृषि उपजमा विषादीको मात्रा प्रयोग अवधी बारे जनचेतना फैलाई मानव स्वाथ्य, पशु स्वास्थ्य र पर्यावरणमा क्रमश सुधार आउने अपेक्षा गरिएको सचिव डा. योगेन्द्रकुमार कार्कीले बताए । जिल्लाको पनौती, बनेपा, धुलिखेल, पाँचखाल, मण्डनदेउपुर, नमोबुद्ध, रोशी र बेथान्चोक गाउँपालिकामा ब्यवसायिक तरकारी खेति शुरु गरिएको छ भने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकामा आधुनिक र ब्यवसायीक खेति शुरु गरिएको छ । उक्त खेतीलाई फार्म हाउसकै रुपमा विकास गर्ने उद्देश्यले प्रदेश सरकारले कृषिमा विशेष कार्यक्रम शुरु गरेको सचिव कार्कीले बताए ।