2019 October 17/ 01:26: 50am

    वातावरणलाई प्रभावित बनाउँदै कालो धुँवा र धुलोका कण उडाउँदै ब्यवसाय संचालन गरिरहेका ईट्टा उद्योगहरु बन्द गर्न ब्यवसायीले आफ्नै सम्झौता उल्लंघन गरे पछि नमोबुद्ध नगरपालिकाले भट्टाका चिम्नीमा डोजर चलाएको छ । 
    ‘वातावरण मैत्री हुन पटक–पटक दिएको अल्टिमेटम नमानेकै कारण अघिल्लो वर्ष नै भट्टा बन्द गर्ने निर्णय गरेका थियौं’–नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले भने –‘हामी निर्वाचित भएर आएको पहिलो बैठकले सबै उद्योग बन्द गर्ने र नयाँ अनुमति नदिने निर्णय गरेको थियो ।’ २०७४ साल जेष्ठमा निर्वाचित जनप्रतिनिधिहरुको पहिलो बोर्ड बैठक भदौ ११ गते बसेको थियो । उक्त निर्णय कार्यान्वयन गर्न पटक पटक गरेको अनुरोधलाई ब्यवसायीहरुले लत्याउँदै आएका थिए । बरु नगरपालिकाको अनुमति विना अन्य उद्योगहरु धमाधम संचालन भएका थिए । मरिसकेका ब्यक्तिको नाममा रहेको उद्योग पनि नामसारी गरी संचालनमा आयो । भट्टा उद्योगबाट निस्किएको कालो धुँवा र कणले स्थानीयहरुको स्वास्थ्यमा प्रत्यक्ष असर पु¥याएको प्रमाण सहित नगरपालिकामा ३३ वटा संस्थामा आबद्ध सयांै ब्यक्तिहरुले ज्ञापन पत्र बुझाएका थिए । नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वातावरण विभागका प्राविधिक उप–सचिव पदमिरा डंगोलले वातावरण संरक्षण ऐन २०५३ अन्र्तगत नमोबुद्ध नगरपालिका भित्र रहेका कुनै पनि भट्टाहरु मापदण्ड अनुरुप नरहेको प्रतिवेदन बुझाएका थिए । भट्टाकै कारण खोलाको पानी फोहोर भएको, पानीका मुहानहरु सुक्दै गएको, खेतियोग्य जमिन मरुभूमिमा परिणत भएको तथा मानव स्वास्थ्यमा गम्भिर खेलवाड भएको निश्कर्ष निकालिएको थियो । उद्योगहरुबाट निस्कने धुवाँको परिक्षण सम्बन्धी कार्यको अध्ययन÷अनुगमन प्रतिवेदन मार्फत भट्टाहरुले संचालन अनुमति प्राप्त गर्दा पालना गर्नु पर्ने कुनै पनि शर्तहरु पालना नगरेकाले तत्काल बन्द गर्न निर्देशन दिईएको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले बताए । ईट्टा उद्योगहरुले नेपाल सरकारले जारी गरेका ऐन, नियम, मापदण्ड कार्यान्वयन गरेको नपाईएको, उद्योगहरुबाट निस्कने धुवाँको परिक्षण गर्नको लागि चिम्नीमा हुनुपर्ने भ¥याङ र पेलेटफर्म नराखिएको, मापदण्डको बारेमा वेवास्ता गरेको, स्याम्प्लीङ प्वाईन्ट र स्याम्प्लीङ प्लेटफर्म नभएको, आईईको प्रतिबेदनमा प्रतिबद्धता गरिए अनुसार पालना नगरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 
    नगरपालिकाले भट्टाहरु नियम विपरीत भएकाले कार्यान्वयन गर्न तथा नभए बन्द गर्न दिएको निर्देशन अनुरुप २०७५ पौष २७ गते प्रतिवद्धता पत्र पेश भए सँगै पौष २८ गते ब्यवसायी र नमोबुद्ध नगरपालिका बीच ८ बुँदे सहमति भएको थियो । सहमति पत्रको बुँदा नम्वर ६ मा २०७६ असार मसान्त भित्र ब्यवसायीहरुले उद्योग आफै हटाउने र नहटाए नगरपालिकाले हटाएर त्यसको खर्च ब्यवसायीले ब्यहोर्ने उल्लेख गरिएको छ । ब्यवसायीहरुले असार मसान्त भित्र उद्योगहरु नहटाए पछि नगरपालिकाको कार्यपालिका बैठकले पटक–पटक गरी १७ दिनको म्याद दिएको थियो । म्याद भित्र नहटाएकाले नगरपालिका आफैले डोजर चलाएको नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले बताए । 

ब्यवसायीको विरोध
    आफ्नै सहमति उल्लंघन गरेका ब्यवसायीहरुले उद्योगमा डोजर चलाउँदा अवरोध गरेका छन् । उद्योगमा जाने सडकमा स्काभेटर सहितका सवारी साधनहरुले छेकेका थिए भने ब्यवसायीहरु मध्ये केहि नगर प्रमुख विरुद्ध नाराबाजीमा उत्रिएका थिए । प्रहरीले नगरपालिकाको अभियानमा अवरोध पु¥याउने नमोेबुद्ध नगरपालिका ३ का किशोर दाहाल, भक्तपुर ९ का राम सुवाल र राजन भैनालेलाई पक्राउ गरेको थियो । नगरपालिकाले भैरवकुण्डबाट डोजर लगाउन शुरु गरेको थियो । शिव शक्तिमा डोजर चलाएर विन्धबासिनी पुग्दा ब्यवसायीको नाराबाजी शुरु भएको थियो । साँझसम्म नगरपालिकाले अन्य उद्योगहरुमा पनि अवरोध पन्छाउँदै चिम्नीमा डोजर चलायो भने केहिले आफै भत्काउन शुरु गरेका थिए । नेपाल प्रहरीका ६०, सशस्त्र प्रहरीका ४१ जना, जनप्रतिनिधि, स्थानीयहरु अत्याधुनिक मेशिन औजार सहित चिम्नी उद्योगमा पुगेका थिए । नमोबुद्ध नगरपालिकामा ८ वटा उद्योग रहेका थिए । भट्टा भत्किए सँगै उद्योगहरुले मजदुरहरुको पारिश्रमिक नपाएको भन्दै मजदुरहरु आन्दोलनमा उत्रने चेतावनी दिएका थिए ।