2019 October 17/ 01:49: 12am

    पार्टी गतिविधि अराजक र विध्वंसात्मक भए पछि सरकारले प्रतिवन्ध लगाएको नेकपा माओवादी विप्लव समुहलाई एक पछि अर्काे संकट गहिरिएको छ । पार्टीमा आबद्ध नेता कार्यकर्ता केहि पक्राउ पर्ने र केहिले पार्टी छाडे पछि पार्टी गतिविधि निष्क्रिय हुन थालेका हुन् । 
    काभ्रे जिल्लामा सांगठनिक हिसाबले सक्रिय हुन नसकेको विप्लव समुहका ४२ जना नेताहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न मितिमा पक्राउ गरेको छ । २०७२ साल देखि हालसम्म प्रहरीले जिल्लामा ४२ जना नेता तथा कार्यकर्ता पक्राउ गरेको हो । पक्राउ गरिएका मध्ये केहिले अन्य पार्टी प्रवेश गर्ने योजनाका साथ पार्टी प्रवेश गरी विप्लब समुह त्यागेका छन् भने केहिले सामान्य जीवन विताउने भन्दै निष्क्रिय भएका छन् । पार्टी छाड्ने १० जना मध्ये पनौतीका सुन्दर रायमाझी, पनौती ६ का नकुल परियार, पनौती ४ का अनिल रायमाझी र पाँचखाल ८ का नरेन्द्र तामाङ नेकपामा प्रवेश गरेका छन् । प्रहरीले २०७२÷०७३ मा विप्लव माओवादीका ५ जना, २०७३÷०७४ मा ५ जना, २०७४÷०७५ मा १३ जना, २०७५÷०७६ मा ९ जना, जिल्लाबाट पक्राउ गरी ललितपुर बुझाईएका ९ जना समेत गरी ४२ जना पक्राउ परेको प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज खड्काले जानकारी दिए । 
‘जमिन’ले पार्टी त्यागे
    नेकपा माओवादी विप्लप समुहका नेता एवं रामेछाप जिल्लाका इन्चार्ज यादव ढुङ्गेल ‘जमिन’ले मंगलबार विज्ञप्ती जारी गरी पार्टी परित्याग गरे सँगै प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले धुलिखेल ५ स्थित घरमै रहेको बखत ढुङ्गेललाई पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय काभ्रेले ढुङ्गेललाई ३ हजार धरौटीमा छाड्ने आदेश दिएको छ । आदेश लगत्तै ढुङ्गेलले पार्टी परित्याग गरी संविधान पूर्ण रुपमा पालना गर्न प्रतिवद्ध रहेकाले विगतको इतिहास र भूमिकालाई समेत ख्याल गर्दै नेकपा माओवादी विप्लव समुहसँग असहमति राख्दै पार्टी परित्याग गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
    चौरीदेउराली गाउँपालिका माझिफेदा घर भएका यादव ढुङ्गेल २०५७ साल देखि सशस्त्र युद्धमा सहभागी भई भूमिगत भएका थिए । सशस्त्र युद्धमा उनले कम्पनीको भाईस कमाण्डर हुँदै कमाण्डर समेतको भूमिका निभाएका थिए । केहि समय निश्क्रिय रहेका ढु्ङ्गेल पुनः क्रान्तिकारी धार समातेको नेकपा माओवादी नेत्र विक्रम चन्द समुहको विप्लव माओवादीमा आवद्ध भएका थिए । पछिल्लो समय उनि रामेछाप जिल्लाको इन्चार्ज भई कार्य गरिरहेका थिए । सोहि क्रममा उनलाई २०७५ चैत्र १५ गते भक्तपुरको सुर्यविनायकबाट साँझ पक्राउ गरी भक्तपुर जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो । २४ दिन भक्तपुर राखिएका ढुंङ्गेललाई २ हजार धरौटीमा छाड्ने आदेश भए सँगै उपचारका लागि लैजाने भन्दै २०७६ बैशाख ८ गते रामेछाप जिल्ला प्रहरी कार्यालयमा पु¥याईयो । रामेछाप जिल्ला प्रहरी कार्यालयमा पनि पुनः २४ दिन हिरासतमा राखियो । उनी शारिरीक रुपमा अस्वस्थ पनि थिए । रामेछाप जिल्ला अदालतले ढुङ्गेललाई १ हजार धरौटीमा छाड्ने आदेश दिएको थियो । 
    रामेछापको २४ दिनको बसाई पछि उनलाई पुनः सिन्धुली जिल्ला पु¥याईयो । २०७६ साल जेष्ठ १ गते सिन्धुली ल्याए सँगै जेष्ठ २ गते ढुङ्गेललाई सुनसरी जिल्ला कार्यालय धरान पु¥याईएको थियो । धरानमा ढुङ्गेल विरुद्ध हातहतियार तथा खरखजना सम्वन्धी मुद्दा दर्ता गरिएको थियो । सर्वाेच्च अदालतमा परेको रिट मार्फत उनि रिहा भई एक महिना देखि घरमै बसिरहेको अवस्थामा काभ्रे प्रहरीले उनलाई पुनः पक्राउ गरी मुद्दा चलाएको थियो ।  घरमा बसे पनि उनले पार्टी परित्याग गरेका थिएनन् तर निष्क्रिय थिए । ‘विप्लव’ समुहका सबै गतिविधिहरु र पार्टी प्रति नै असहमति राख्दै आजैका मिति देखि पार्टी परित्याग गरी शान्तिपूर्ण जीवन विताउन संविधानको पूर्ण पालना गर्नेछु’–ढुंङ्गेलद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीसँगै ढुङ्गेलले प्रशासन समक्ष आत्मसमर्पण गरेका हुन् ।