मुख्य खबर

उपराष्ट्रपति पुनलाई ‘सुँगुर’ पछि ‘डम्फु’

मोतीराम तिमल्सिना
खार्पाचोक, रोशी
उपराष्ट्रपति नन्दकिशोर पुन पासाङलाई रोशी गाउँपालिका–८ खार्पाचोक पोखरीटोलमा सुँगुरको मासु र डम्फुले भब्य स्वागत गरिएको छ । सामान्य जीवनशैलीमा रमाउने उपराष्ट्रपति पुनले युद्धमा अहोरात्र खटिएका स्वर्गिय रेशमबहादुर तामाङको घरमा २४ घण्टा विताएका थिए । 
पुनको बसाईमा सुरक्षा निकायलाई असिन पसिन भएको थियो । साथमा धर्मपत्नी थिईन् । गत विहीबार माघ २५ गते दिउँसो ३ बजे खार्पाचोक पुगेका पुनः तामाङ समुदायको ल्होसार पर्वमा सहभागी भई मायाको चिनो डम्फु लिएर शुक्रबार दिउँसो ३ बजे राजधानी फर्किएका थिए । मगर जातिका पुनले आफ्नो शैलीका खानेकुरा खाए पनि तामाङ समुदायको चाडलाई भब्य, सभ्य र संरक्षणमा जोड दिन सक्दो प्रयास गर्ने बताए । 
खार्पाचोक जान दुई वर्ष अघि देखि समय दिएका उपराष्ट्रपति पुनका लागि खानेकुराको प्रवन्ध केहि दिन अघि देखि नै गरिएको थियो । गत वर्ष पुन खार्पाचोक युवा क्लवकै आयोजनामा गरिएको ल्होसार मनाउन आउने बचन दिएर सहभागी हुन सकेका थिएनन् । एक घण्टा पानी परेपछि सडक चिप्लो भएकाले उनको सवारी रद्ध गरिएको थियो । यो पटक पनि पानीकै कारण कार्यक्रममा सहभागि हुन नपाउने डरले उनी अघिल्लो दिन नै खार्पाचोक पुगेका थिए । युद्धका साथीहरुको सम्वन्धका कारण उनी खार्पाचोक पुगेका हुन् । शहरी वातावरणबाट फ्रेस हुन पनि उनि खार्पाचोक आएको बताईएको छ । मगर समुदायका भएकाले पुनलाई रोशी गाउँपालिकाकै रजवासबाट दुईवटा सुँगुरको ब्यवस्था गरिएको थियो । खार्पाचोक पुगे लगत्तै पुनले कालो चिया लिए । कालो चिया पछि गाउँमै हुने पिडालु, ल्होछारमा पकाईएको सेल लिएपछि साँझ सुँगुरको मासु र ढिँडो खाए । तामाङ समुदायको नयाँ वर्ष प्रवेशको अवसरमा आयोजित लहो फाल्ने लामा नाचमा सरिक भए । दुई घण्टा चलेको उक्त नाचमा पुन आधाघण्टा सहभागि भए । जिल्लाका सिडिओ, एसपी समेत उक्त नाचमा सहभागि भएका थिए । 
खसी, कुखुरा, सुँगुर लगायतको मासु ब्यवस्था गरेपनि पुनले सुँगुरको मासुलाई चाख लगाए । विहान कालो चिया र विस्कुट लिएर उनी रेशमले शुरु गरेको रोशीकै चर्चित बुद्धचित्त लगाएको बारीमा गएर अवलोकन गरे । २५ वटा बुद्धचित्त र ४० बोट किवीलाई अझै बढाउन छोरा धनबहादुरलाई सुझाव दिए । ५ रोपनी जति बारीमा उनले खेति गर्दै आएका थिए । ल्होछार कार्यक्रमका संयोजक सुजन लामाले तामाङ समुदायलाई महत्व दिएकोमा उपराष्ट्रपतिलाई विशेष धन्यवाद दिएका थिए । विहान केहि क्षण स्थानीयहरुसँग पुनले भलाकुसारी गरे । सिडिओ र प्रहरी प्रमुख गाउँतिर लोकल खान दौडिए । सांसदहरु रत्न ढकाल, पूर्व सांसद सुर्यमान दोङ साँझ देखि नै पुन सँगै थिए । दिउँसो १२ बजे देखि कार्यक्रममा सहभागी भएका पुन दिउँसो ३ बजे राजधानी फर्किए । बृहत्त साँस्कृतिक कार्यक्रममा मन्तब्य राख्दै पुनले तामाङ समुदायले हरेक आन्दोलनमा पु¥याएको योगदानको स्मरण गरेका थिए । ल्होछार कार्यक्रम र पुनको ब्यवस्थापनका लागि झण्डै १० लाख रकम खर्च गरिएको आयोजकले जानकारी दिए । कार्यक्रमको समापनमा उपराष्ट्रपति पुनलाई तामाङ समुदायका लामा गुरुहरुले बजाउने डम्फु उपहार दिईएको थियो । उपराष्ट्रपति पुनले विशिष्ठ योगदान पु¥याएका विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गरेका थिए । 
माओवादी युद्ध शुरु भएकै थिएन । खार्पाचोकमा पिठो पिँध्ने मिल र पसल संचालन गर्दै आएका रेशमबहादुर तामाङ शिकार खेल्न मन पराउँथे । गाउँमा शिकार खेल्ने ब्यक्तिको शोख असाध्यै धेरै हुन्थ्यो तर थोरैले मात्र त्यो अवसर पाएका हुन्थे । ति मध्ये रेशमबहादुर एक थिए । सबैका सहयोगी रेशमबहादुरको २०७४ मंसिर २८ गते अकस्मात निधन भयो । २०२१ साल चैत्र १० गते जन्मिएका रेशमको निर्वाचनका क्रममा भएको धपेडीका कारण आएको ज्वरोले अकस्मात निधन भएको थियो । मंसिर २१ गते उनकै पार्टीका नेता गंगाबहादुर दोङ्ग प्रतिनिधि सभा र रत्न ढकाल प्रदेश सभामा निर्वाचित भए । अघिल्लो पटक नेपाली कांग्रेसका स्थानीय तिर्थ लामाले जिते पछि रेशम चिन्तित थिए । कम्युनिष्ट पार्टीको सरकार र सत्ता सञ्चालन गरी जनताको सेवा गर्नुपर्ने उदेश्य बोकेका रेशमले सरकार नबन्दै संसार छाडे । तर बमध्वज र रत्न सहित जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा बाम गठवन्धन विजयी भएको खबर सुने । देशभर नै बामगठवन्धन विजयी भएको खुशीको खबर सुनिनसक्दै उनले छाडेर गए । 
३० वर्षिय छोरा धनबहादुर तामाङ, रेशमको श्रीमती कुमारी तामाङ रेशमका योगदान स्मरण गरिरहेका छन् । बाबुले छाडेको थान्का ब्यवसाय, बुद्धचित्त, किवीका विरुवाको ब्यवसायी खेति सम्हाल्ने योजनामा रहेका धनबहादुर माओवादी युद्धताका केटाकेटी नै थिए । झण्डै २० हजार मान्छेले उनकै घरमा खाना खाए होलान् धनबहादुर सम्झन्छन् । कहिलेकाँहि आफ्नै ओछ्यानमा सुत्ने स्थान नभएर बारीको पाटोमा ओच्छ्यान राखेर सुतेको याद छ उनलाई । माओवादीहरु भए जति सबै उनकै घरमा बस्ने गरेका थिए । माओवादी बसेर गएकै रात सेनाका मान्छेहरु आएर बुबा खोई भन्दै आमा र बहिनीलाई समेत त्रसित बनाउँथे । माओवादीमा लागेका उनका बाबु रेशम काठमाडौ गएको भन्दै सधै ढाँटिरहेका हुन्थे । तर पनि सुख पाउँदैन थिए माओवादीमा गएको भएर तिमीहरुले ढाँटेका हौ । २०६४ सालको निर्वाचनमा अत्याधिक मत ल्याएर विजयी भएका सुर्यमान दोङ्ग लालध्वजलाई समेत उनले प्रशिक्षण दिएका थिए । उर्जा राज्यमन्त्री समेत भएका दोङ्ग हरेक पल्ट खार्पाचोक पुग्दा उनको घरमा पुग्ने गरेका थिए । माओवादीहरुले जनयुद्धमा सेल्टर बनाएको उनै रेशम तामाङको घरमा पुनले २४ घण्टा विताए । रेशम पहिला देखि नै सफा घरमा बस्न रुचाउँथे  । गाउँकै राम्रो र सफा ठानिएको घरमा पुनले शहरी वातावारणबाट टाढा पुगि एकान्तमा मुड फ्रेस बनाएका थिए । 
रामेछापको बेथान चौकी पहिलो पटक माओवादीले आक्रमण गर्दा रेशमले पाँच पाथी बारुद बोकेर गएका थिए । उनी शिकारी भएकाले बारुद तयार गरिरहेका हुन्थे । माओवादीहरुले चौकी हान्ने भनेको बेला न त हतियार थिए न त बारुद नै । उनै रेशमले तयार पारेको पाँच पाथी बारुदले बेथान चौकी आक्रमण गरियो । केहि प्रहरी मरे । केहि कार्यकर्ता मरे । तर माओवादीले सफलता प्राप्त ग¥यो । त्यहिबेला देखि निरन्तर सक्रिय रेशमले माओवादीको विभिन्न तहमा बसेर काम गरे पनि निधन हुने समयमा सामान्य कार्यकर्ता थिए । रेशमका छोरा धनबहादुर जनता सबै समान हुन्छ भन्ने प्रशिक्षण सुनेकाले माओवादी मन परेको बताउँछन् । तर खै त भने जस्तो ब्यवहार ? माओवादीले भनेको समान अवसर कहिले हो ? गरिब र धनीमा कहिले हुन्छ समान ? हिजो जस्तै छ आज पनि ? धनबहादुरले कम्युनिष्टहरुले बोलेर मात्रै होईन हिजो भने जस्तो बाचा पुरा गर्न ढिला गर्न नहुने तर्क पेश गरेका छन् । नागरिकका सबै आवश्यकता पुरा गर्ने जिम्मा सरकारको भन्ने उद्घोष कतै माओवादीले विर्सियो कि ? अब बामपन्थी गठवन्धनले पूरा गर्ला त ? रेशमको सपना र उनि प्रतिको सच्चा श्रद्धाञ्जली त्यतिबेला मात्रै हुन्छ जतिबेला जनताले कम्युनिष्ट सरकारको अनुभुति गर्नेछन् । एमालेका सबै नेताहरु, नेपाली कांग्रेस र अन्य दलका नेताहरु समेत रेशमका घरमा पटक पटक पुगिसकेका छन् । 

प्रकाशित मिति: 15 February, 2018