अर्थ वाणिज्य

भाषण गर्न नजान्दा अध्यक्ष बनिनँ

विरेन्द्रबहादुर श्रेष्ठ
उपाध्यक्ष
फ्लोरिकल्चर एशोसिएसन, काभ्रे

जन्म, बाल्यकाल, औपचारिक शिक्षाः २०१६ सालमा तत्कालिन श्रीखण्डपुर पञ्चायत हालको धुलिखेल नगरपालिका वडा नम्वर ५ श्रीखण्डपुरमा मेरो जन्म भएको हो । पाँच छोरा र दुई छोरी मध्येको म काईलो छोरा थिएँ । दुई दाईहरु अध्ययन गरिसकेको भएर मलाई विद्यालय पठाउने कुरामा घरमा एकमत थियो । मेरो परिवार मध्यम थियो । जेठो दाईले अध्ययन गर्ने अवसर पाउनु भएन । श्वेत भैरव निमावि, श्रीखण्डपुर निमावि, आजाद मावि हुँदै धुलिखेलको सञ्जीवनी माविमा मैले अध्ययन गरें ।
    घर नजिकै विद्यालय भएकाले मलाई निम्न माध्यमिक विद्यालयमा सहजै थियो । मावि अध्ययन गर्न बनेपाको आजादमा आउँदा केहि असहज भयो । हामीलाई बाहिरको मान्छे भनेर हेप्ने चलन थियो । धुलिखेलमा त्यस्तो थिएन । धुलिखेलको सञ्जीवनी माविमा धुलिखेल भित्र भन्दा बाहिरका विद्यार्थीहरु थिए । त्यसकारण पनि मलाई मात्रै होईन श्रीखण्डपुर, चौकोट, पनौती क्षेत्रबाट मात्रै होईन बाहिरबाट आउने सबै विद्यार्थीहरुलाई सहज थियो । अध्ययन गरेर जागिर खानुपर्छ, मध्यम परिवारलाई आर्थिक रुपले जागिरको माध्यमबाट सम्वृद्ध बनाउनु पर्छ भन्ने सोच थियो । किसानको परिवार भएकाले हरेक दिन विहान बेलुका, विदाको दिन खेती किसानीमा जाने, घरमा भएका बस्तुभाउहरु चराउने, घाँस काट्ने, काफल खाने समयमा जंगल जाने, कहिलेकाँहि गुच्चा खेल्ने यस्तै यस्तै गरी दिनहरु बित्ने गरेका थिए । साथीहरुको एउटा समुह थियो हामी हरेक क्षण सँगसँगै हुन्थ्यौं । जंगलमा जाँदा होस् वा विद्यालय जाँदा हामी सल्लाहमै जाने गरेका थियौं ।
    मैले कहिल्यै उपद्रो काम गरिनँ । अभिभावक र शिक्षकहरुको कारवाहीमा पनि परिनँ । गृहकार्य नगरेको भन्ने पनि थाहा भएन । कक्षा ९ मा आजाद माविमा गएर फेल भएँ । कक्षा ९ मा धुलिखेलमा कृषि विषय लिएर पढेको भएर मुला उत्पादन देखि गुलाफको फूल बनाउने सम्मको प्राक्टिकल थियो । त्यतिबेला सिकेको सिप मैले ब्यवसायमा प्रयोग गर्न सकें । अमरनाथ यगोल सरले पढाउनु हुन्थ्यो कृषि विषय । उहाँले मलाई भेटेर कृषि गरेकोमा उहाँ खुशी हुनु भयो । अरु साथीहरु जेटिए बनेर जागिर खाए । म मात्रै कृषि पेशामा संलग्न भएँ । त्यो पनि लामो समय पछि ब्यवसायीक कृषि अभियानमा । उहाँले मेरो फर्ममै आउने बताउनु भएको छ । गुरुहरु आफ्ना चेलाहरुको प्रगतिमा खुशी भएको देख्दा मलाई असाध्यै खुशी लाग्यो । त्यतिखेर विद्यालयमा खाजा खाने चलन थिएन । बनेपा गए पनि धुलिखेल गए पनि हिडेरै जानु पर्दथ्यो । पैसाको चलन थिएन । कुनै दिन २५ पैसा, एक रुपैयाँसम्म प्राप्त भयो भने हामी बरफ खाएरै सकाउँथ्यौं ।
    त्यतिबेला हाम्रो कक्षामा १ सय २० जना थियौं । सेक्सन थियो । एसएलसी भन्दा टेष्ट उत्तिर्ण गर्न कठिन थियो । टेष्टमै जम्मा ३० जना मात्रै पास भएका थिए त्यसमा म परेको थिएँ । टेष्ट पास भएपछि एसएसलसी सहज हुन्छ जस्तो लाग्थ्यो । पूर्णमान सिं बस्नेत सरले एसएलसीका बेला भ्याएको समयमा ट्युसन पढाउनु हुन्थ्यो । घरबाट अध्ययन गर भने पनि हामीलाई खासै मन लाग्दैन थियो । बाल्यकालको समयमा त्यस्तै याद आउँदो रहेछ । एसएलसीसम्म खासै कतै घुम्न गईएन । खोपासी, पनौती, बनेपा, धुलिखेल, काठमाडौसम्म गएको थिएँ । शिक्षकहरुले शैक्षिक भ्रमणको रुपमा ककनी लैजानु भएको थियो । एसएलसी सोचेजस्तो राम्रो नभएपनि पास हुन्छु जस्तो लाग्या थियो । नभन्दै दोश्रो श्रेणीमा पास भएछु । त्यतिबेला गोर्खापत्रमा मात्रै रिजल्ट प्रकाशन हुने गरेको थियो । दाईहरुको घर काठमाडौमा थियो । रिजल्ट भएको थाहा पाएँ । हतार हतार म भुगोलपार्क पुगें । रिजल्ट टाँसिएको रहेछ । हेर्दा दोश्रो श्रेणीमा पास भएको रहेछु । असाध्यै खुशी चाँहि लागेन । तर पास हुँदा रमाईलो भयो । एसएलसी पास भएको भनेर उफ्रि उफ्रि हिडिनँ । धेरै साथीहरु फेल पनि भएका थिए ।

एसएलसी पछिः एसएलसी पास भएपछि मैले पब्लिक युथ र शंकरदेव क्याम्पसमा गएर फाराम भरें । इन्ट्रान्सको चलन थिएन । नम्वरको आधारमा नाम प्रकाशन गरिन्थ्यो । मेरो शंकरदेव क्याम्पसको दोश्रो सूचीमा परेपछि पब्लिक युथमा भर्ना हुने सोच बनाउँदा बनाउँदै काभ्रे क्याम्पस खुलेछ । हामी काभ्रे क्याम्पसको पहिलो ब्याचका विद्यार्थी भयौं । केदारनाथ प्रधान सर क्याम्पस प्रमुख हुनुहुन्थ्यो । १ सय २० जना जति विद्यार्थी थिए । पहिलो क्याम्पस भएकाले धेरै जागिरेहरु थिए । उहाँले पनि हामीलाई हौस्याउनु भयो । तिमीहरु नआए अरु कसले पढ्छ भनेर केदारनाथ प्रधानसरले हौसला मात्रै दिईरहनु भयो । धेरै साथीहरुसँग संगत बनाईयो । विहानको कलेज थियो । दिउँसो घरमा गएर खासै काम थिएन । दिउँसोको समयमा घरको भन्दा अरु काम गरिनँ । जागिर पनि खाईनँ । एक पटक राष्ट्रिय जनगणनामा ३ महिना जागिर खाएँ २०३८ सालमा । त्यसपछि टिम्बोर कर्पाेरेसनमा ६ महिना जति जागिर खाएँ । जागिर भन्दा पनि बुबाले गर्ने ब्यवसाय वा अरु केहि गरौ जस्तो लाग्या थियो । बुबा सुर्तिको ब्यवसाय गर्नु हुन्थ्यो । ठुल्दाई सर्लाहीमा ब्यापार गर्नु हुन्थ्यो । म दाईलाई सहयोग गर्न काभ्रे क्याम्पस अध्ययन सकेर उता लागें ।

राजनीतिः हामीले स्कुल पढ्दा देखि नै राजनीति गरेका थियौं । श्रीखण्डपुरमा प्रगतिशिल साहित्यीक सम्मेलन आयोजना गरेका थियौं । मञ्जुलहरुको उपस्थितीमा हामीले त्यो कार्यक्रम गर्दा कम्युनिष्ट भईसकेका थियौं । एसएलसी दिईरहेका बेला मलाई केदारनाथ प्रधान सरले एकताको पाँचौ सम्मेलनमा काठमाडौ लिएर जानु भएको थियो । प्रतिनिधि भएर होईन उहाँले कार्यक्रममा सहभागि हुने गरी मलाई लिएर जानु भएको थियो । क्याम्पस अध्ययन गर्दा केदारसरले मलाई चिट दिएर घरमा भेट्न बोलाउनु भयो । हामी तीन साथीहरु दिउँसो केदार सरको घरमा पुग्यौं । उहाँले आफुलाई नभेटी अरु शिक्षकहरुको नाम दिएर काभ्रे क्याम्पसमा पहिलो अखिलको प्रारम्भिक कमिटी बनाउन निर्देशन दिनु भयो । मेरो अध्यक्षतामा पहिलो पटक अखिलको प्रारम्भिक कमिटी गठन भयो ।
    अखिल पाँचौ र छैटांैको बादविवाद भयो । नेविसंघ पनि थियो । हामी मिलेर चुनाव लड्यौं । अखिल पाँचौले स्ववियुको चुनावमा सभापति लिएर उपाध्यक्ष र कोषाध्यक्ष छैटौलाई दियौं । चौकोटका केशवलाल काभ्रे क्याम्पसको इतिहासमा पहिलो पटक स्ववियुको सभापति भए । एमाले निकट अखिल पाँचौबाट हामीले जित्यौं । त्यो इतिहास रचेपछि हामीलाई अखिलको जिल्ला सम्मेलनमा प्रतिनिधि बनाईयो । म र केशव प्रतिनिधि बनेर देउपुरमा भएको सम्मेलनमा गएका थियौं । जिल्लाका विभिन्न स्थानमा माविहरु भएका थिए । माविहरुबाट प्रतिनिधिहरु आएका थिए । सबैले मलाई अध्यक्ष बन्न अनुरोध गरेका थिए । कारण म क्याम्पसमा अध्ययन गर्ने र त्यो पनि स्ववियुमा सभापति जिताएको भएकाले मलाई अनुरोध गरिएको थियो । मलाई बोल्ने कला थिएन । त्यहि कारण उपाध्यक्ष बनें । कुशादेवीका किशोर थापा अध्यक्ष हुनु भयो । पनौतीका सहकुल थापा सचिव म उपाध्यक्ष । मैले सबै काम गर्ने गरी नामका लागि मात्रै भए पनि अध्यक्ष किशोर थापालाई बन्नु भनें । उहाँ भाषण गर्ने म काम गर्ने सहमति भएको थियो । पछि पलाञ्चोकमा सम्मेलन आयोजना भएको थियो । मैले त्यो जिम्मेवारी हस्तान्तरण गरें । मैले जिम्मेवारी लिएको कामलाई निरन्तर पुरा गरें जस्तो लाग्छ । त्यस पछि म, अम्बुभवानी कार्की, विदुरप्रसाद सापकोटा, तेजबहादुर खड्का, नारायण पाण्डे, पदम विश्वकर्मा लगायत युवा संघको पहिलो महाधिबेशनमा जिल्लाबाट प्रतिनिधि बनेर गएका थियौं । धुलिखेलको जिम्मेवारी मलाई थियो युवा संघको । सर्लाही ब्यवसायमा जानुपर्ने भएकाले मैले जिम्मेवारी हस्तान्तरण गरें । संगठित सदस्य निरन्तर भएँ । धुलिखेल नगर कमिटीमा तीन कार्यकाल काम गरें । अहिले राजनीति आवश्यकतामा गर्ने अरु समय ब्यवसायमा लाग्ने गरेको छु । राजनीतिमा मैले पद पाइनँ, पदमा पुगिन भन्ने कहिल्यै गुनासो रहेन । छैन र हुने छैन । पार्टी बलियो हुनुपर्छ मलाई त्यसमै सन्तुष्ट छु । अहिलेको बाम एकता बलियो हुनु पर्छ । पार्टी स्वतन्त्रता कि राजनीति स्वतन्त्रता ? यसमा पहिला पनि बहस थियो । म राजनीति स्वतन्त्रताको पक्षमा थिएँ । म निरन्तर राजनीतिमै छु । तर ब्यवसाय पहिलो प्राथमिकतामा राखेको छु ।
    
ब्यवसायीक जीवनमा प्रवेशः मैले शुरुमा चिनको खासाबाट कपडाहरु ल्याएर काठमाडौको बौद्धमा लगेर बेचें । गर्मीको समयमा बरफ बनाउन थालें । बरफ बनेपा र आसपासका बजारमा विक्री हुन्थ्यो । त्यस लगत्तै मैले ऊनको काम गरें । गलैचाको ऊन विक्री गर्दा झण्डै पाँच सय महिलाहरु त्यसमा आबद्ध भएका थिए । सर्लाहीमा केहि वर्ष बसेर म घरमा फर्किएको थिएँ । बुबा पनि जनकपुरबाट सुर्ति ल्याएर तमाखु खानेहरुलाई विक्री गर्नु हुन्थ्यो । ब्यापार नै गर्नु पर्छ भन्ने उद्देश्यले मैले खासाको ब्यापार शुरु गरेको थिएँ । पोका पोका ल्याउँदा ल्याउँदै ट्रक ट्रक विक्री गर्न थालेको थिएँ । पछि मान्छेहरु पक्रन थाल्यो भनेपछि डर लाग्यो अनि छाडिदिएँ । घरमा एकजना डोल्पाको मान्छे बसेका थिए काठमाडौमा । उनले गरेको ऊन ब्यवसायलाई मैले काभ्रेमा शुरु गरेको थिएँ । झण्डै १० वर्ष मैले त्यो ब्यवसाय गरें । विस्तारै मान्छेहरुको आर्कषण घट्दै गयो । त्यो ब्यवसाय काभ्रेमा कम भएपछि मैले हेटौडामा पनि शुरु गरें । विस्तारै त्यहाँ पनि घट्दै गयो । त्यसपछि त्यसलाई छाडिदिएँ ।
    ऊनको काम बन्द मात्रै भएको थियो । मधुसुदन प्रधान भन्ने एकजना ब्यक्ति काठमाडौबाट श्रीखण्डपुर चोकमा आईपुग्नु भएछ । उहाँले जयकृष्णलाई भेट्नु भएछ । उहाँले मेरो नाम दिनु भएछ । किन विरेन्द्र ? उहाँले मेरो बारेमा बताउनु भएछ । म र मेरो श्रीमती फुलको सौखिन मान्छे हौं । घरमै हामीले फुल रोपेर त्यसको आनन्द लिएका थियौं । उनिहरुको जोरपाटीमा नर्सरी रहेछ । त्यो नर्सरी श्रीखण्डपुरमा गर्ने उहाँहरुको सोच रहेछ । एउटा फुलको १५ रुपैयाँमा विक्री हुन्छ भनेपछि म हौसिएँ । खासै अरु काम पनि थिएन । उहाँहरुसँग साझेदारी गरेर मैले काम गर्ने योजना बनाएँ । जोरपाटी गएर आएपछि म फुल ब्यवसाय गर्ने सोच बनाएँ । त्यो भन्दा ६ महिना अघि काभ्रेमा भोजराज तिमल्सिना र राजन जीले पुष्प ब्यवसाय शुरु गर्नु भएको रहेछ । मलाई पुष्प ब्यवसायमा आकर्षण थियो । हामी चार जनाले ८ लाख रुपैयाँ लगानी गरेर पुष्प खेतिको काम शुरु ग¥यौं २०६२ सालमा काम सबै मैले हेरेको थिएँ । फुलहरु दुबई, कतार पठाउने भनेर आश्वासन दिनु भएको थियो । मैले काम भन्दा पनि अवसरको रुपमा लिएँ । ८ लाख रुपैयाँ तीन वर्षमा डुब्यो । घाटा प¥यो । उहाँहरुले केहि रुपैयाँमा मलाई छाडेर जानुभयो । त्यो भाडाको जग्गा छाडेर मैले आफ्नै खेतमा शुरु गरें ।
    २०६५ देखि मैले आफ्नै खेतबाट ब्यक्तिगत लगानीमा पुष्प ब्यवसाय शुरु गरें । कक्षा ९ मा पढेको कृषि विषयले मलाई जीवनको अन्तिम क्षणमा भए पनि साथ दियो । कृषकको रुपमा काम गर्न पाउँदा, कृषक भनेर चिनिँदा आनन्द आउन थाल्यो । उतिबेला २ लाख डुबेको मलाई पीर भएन । फुलका बारेमा धेरै कुरा जानकारी पाएँ । कतिबेला कुन फुल फुलाउने हो ? कुन फुलको माग धेरै छ ? तिहारमा सयपत्री फुल फुलाउन पात्रोमा भएको दिन अनुसार मेहनत गर्नु पर्छ । तिहार अघि आउँदा अघि र पछि आउँदा पछि पारेर फुल फुलाउनु पर्छ । यस्ता धेरै कुराहरु मैले त्यो बेला जान्ने अवसर पाएँ । लगन, चाडपर्वको समयमा धेरै फुलको माग हुन्छ । फुलको प्रयोग विस्तारै बढ्दै गएको छ । उत्पादन बार्षिक रुपमा बढ्दै गएको छ । प्रयोगकर्ताहरु पनि बार्षिक १० प्रतिशतले बढेका छन् । फुलको स्थानमा खादाको प्रयोग भईरहेको छ । पहिला १५ रुपैयाँको फुल अहिले १० रुपैयाँमा प्राप्त हुन थालेको छ । काभ्रेको किसान भए पनि काठमाडौमा फुल सहज पु¥याउन सकिएको छ । जिल्लामै थुप्रै होटलहरु छन् । खपत हुने स्थानहरु पनि छन् । विस्तारै त्यसको शुरुवात भएको छ । अब पुष्प ब्यवसायलाई ब्यवसायीक बनाउन सहज हुँदै गएको छ ।
    अरुले के गर्छन् भनेर यो ब्यवसाय शुरु ग¥यो भने सफल हुन कठिन छ । यसमा मेहनत गरेर, प्राविधिक ज्ञान लिएर मात्र शुरु गर्नु राम्रो हुन्छ । बेरोजगार वा यो क्षेत्रमा आउन चाहने ब्यक्तिहरुलाई मैले प्र्राविधिक ज्ञान र बजारिकरण गर्न सहयोग गर्छु । गरिरहेको पनि छु । समस्या थुप्रै छन् । जग्गा प्लटिङ्ग गरेर सकिदै गएको छ । सरकारको सहयोग छैन । तरकारी खेति र पुष्प खेतिलाई ब्यवसायीक रुपमा अगाडी बढाउन विशेषतः सर्वप्रथम जग्गाको ब्यवस्थापन महत्वपूर्ण कुरा हो । पुष्पलाई जोगाउन स्थायी टनेल, टनेलमा पाईपको प्रयोग, पानीलाई थोपा सिंचाई, विषादी, भिटामिन लगायतका कामहरु गर्न नयाँ नयाँ प्रविधि भित्रिएको छ । त्यसको प्रयोग गर्नु पर्छ । पुष्प खेतिबाट बाँच्न सकिन्छ भन्ने उदाहरण दिन सकिन्छ । तर विडम्वना सरकारले आजसम्म न कृषकको परिचय दिएको छ न कतैबाट सम्मान र हौसला दिएको छ । युवाहरु अब विदेशिनु हुँदैन । युवाहरुले स्वदेशमै यस्ता कामहरु गर्न शुरु गर्नु पर्छ । माटोमा खेल्न लाज मान्नु हुँदैन । मलाई आत्मसन्तुष्टी छ । नाम छ । युवाहरु मेरो फार्ममा आउनुस् म सिकाउन तयार छु । पछिल्लो समय मैले २० रोपनी क्षेत्रफलमा पुष्प खेति गरिरहेको छु । जति कमाएको छु सबै पैसा त्यहि ब्यवसायमा लगानी गरिरहेको छु । त्यहिबाट छोराछोरीहरुलाई पढाएको छु । ९÷१० लाख ऋण कृषि विकास बैंकको तिर्न सफल भएँ । परिवार चलाएको छु । अरु विलासिताका सामानहरु खरिद गर्न सकेको छैन तर पनि ब्यवसायीक रुपमा काम गरेको छु । बार्षिक १०÷१२ लाख आम्दानी गरेको छु । जिल्लामा मालाको आवश्यकता पुरा हुन सकेको छैन । छिमेकी देशबाट म&
प्रकाशित मिति: 12 October, 2017