अर्थ वाणिज्य

मुटुको टुक्रो बगाउँदा आफै भएँ दोषि

जीन्दगीले यसरी धोका दियो कि
भाग्य आफ्नो बुझ्नै सकिनँ
समय यसरी बदलिदियो कि
बाटो आफ्नो चिन्नै सकिनँ 
यो मर्मस्पर्शी गीतको भावसँग जीन्दगी मित्थ्या बन्न पुगेको छ । एउटा मान्छेलाई जीन्दगीले यसरी गनीगनी चोट दिँदो रहेछ जुन चोटको पीडामा उ अपाm्नै भाग्यबाट अनविज्ञ बन्न पुग्छ । जब भाग्यबाट अनविज्ञ भएको क्षण निर्माेही बनी आफ्नो बदलापनको क्षणलाई जीन्दगी समक्ष प्रष्टीकरण गर्ने रहेछ । सायद भाग्यको अनविज्ञता र समयको बदलापनले मान्छेको जीन्दगी कताबाट कता कहाँबाट कसरी फनफनी एकनाश घुम्दो रहेछ । त्यहि भाग्य र भाग्यले रित्तो पारेर लुटेको जीन्दगी अहिले शुन्य शुन्य भएको छ । जहाँ गएपनि रित्तिएको जीन्दगी लिएर बाँचिरहेको यो अभागीको निरिह आत्मवृतान्त यथार्थहरु पनि उस्तै लाग्छन । 
घर परिवारको आर्थिक स्थिति ज्यादै न्यून भएको कारण घर व्यवहार चलाउन निकै धौ धौ थियो । आमाबुबाको दुःखमा रमाएर बाँच्न नचाहने मेरा स्वाबलम्बी विचारधारामा अग्रसर रहेर एघार वर्षकै उमेरमा घरपरिवारबाट पृथक बनेर आफैं जीन्दगीमा केही गर्छु भनी बनेपाको एउटा होटलमा भाँडा माझ्ने काममा लागि संघर्षमय दिनहरु हातको औंलामा भाँच्दै गन्न थालें । एउटा अबोध मनसायले आफ्नै निम्ति आफैं केही गर्छु भनि मनभरि अठोटको पहाड उचालि हिँडेको मेरो जीन्दगीले कहिले पनि सुख चैनको प्रत्याभूति गर्न सकेन । साहुको किचकिच, कामको बोझ दुनियाँको तिरस्कारमय अवहेलनाहरु सहेर पनि म एकाग्र भएर आफ्नो काममा अग्रसर हुँदै अगाडि बढिरहे । आफूले कमाएको पैसा आमाबाबुलाई घरमा पठाएर बुबाआमाको आर्थिक न्यूनतामा केही राहत दिने काम विस्तारै गर्दै गएँ । मैले गरेको कामको संघर्ष वापत गरेको आयआर्जन आमा बुबाको दुःख टाल्ने साधन बनाई म जीन्दगीको दुःखकै आयाम भित्र समयको रफ्तारमा विस्तारै घुम्दै गएँ । थाहा थियो मेरो उमेर दुःख झेली समयको संघर्षमा आफूलाई रेल्नु थिएन । बरु यो उमेरमा त भविष्यकै कर्णधार बनि देश सेवा गरि आफ्नो प्रतिष्ठालाई प्रबल पार्न शिक्षाको उज्यालो घाम ताप्ने समय र संघर्षकै भूमिमा आफूलाई जोतेर परिश्रमको फल फलाई यस्तो निरीह जीन्दगी झेली बाँच्नु पर्ने कस्तो भाग्य कस्तो नियति परिस्थितिको कमारो बनी अभागी पुर्पुरो लिएर बाँचेको मेरो जीन्दगी भित्र कति दर्दनाक असहाय पीडाहरु रहेका छन् । 
समयले आफ्नै पखेटा फिजाई जीन्दगीले फन्को मार्दैै गयो । कामलाई जिउज्यान लगाई मेहनत अनि परिश्रम पूर्वक काम गरेको देखेर साहुले म प्रति सहानुभूति देखाउँदै आफ्नो छोरा सरह माया गर्नुहुन्थ्यो । केही समय पछि घर जाने सोचमा म तल्लीन बनें । यहि सोच अनुरुप म आफ्नो घर फर्किनको निम्ति होटलको साहुसँग अनुमति माग्दा साहुले घर जानको निम्ति स्वीकार्य प्रतिक्रिया जनाई पूर्ण फेरी होटलमै फर्कि आउने बाचा बद्ध गराई आफ्नो घरको निम्ति बाटो तताएँ । घर पुग्दा आमाबुबा लगायत सबैजना निकै खुशी हुनुभयो । मेरो ती बाल्य संघर्षको अवस्था देखेर बुबाआमा त एकछिन दुःखले विचलित हुनुभएको थियो । तैपनि बुबाआमाको न्यानो प्रेम अनि स्नेहकै बाबजूद हुर्केको मेरो बाल्यकालमा पनि यस्तो दुःखको नाम्लो थापी वेदनाको भारी बोक्न पर्दा कसको बाबाआमा खुशी होलान र ? परिवारसँग बसेर दिन बिताउन थालें । घरमा दाईको विवाहको चाँजोपाँजोको निम्ति कुराहरु चलाउँदै गएपछि दाईको विवाह पनि पक्का पक्कीको निर्णयस्वरुप नेपाली परम्परा अनि रितिरिवाज अनुसार दाईको विवाह धुमधाम गरियो । घरमा नयाँ बुहारी भित्र्याएकाले आमाबुबा खुशीले गदगद् हुनुभयो । पुनः बनेपा फर्किन खोज्दा आमाबुबाले मेरो अवस्थालाई नियालेर नजानको निम्ति आग्रह गर्नु भयो । खुशीको सन्तोषको सास फुराई सुखको महलमा राख्ने बाचा गर्दै म बनेपा फर्किएँ । होटल पुग्दा साहुजी निकै खुशी हुनुभयो । होटलको काममा मैले आफ्नो दिनहरुलाई फेरी रुपान्तरित गर्दै लगें । दिन महिनामा महिना सालमा परिणत हुँदै गएँ । एकदिन साथीहरुको लहैलहैमा विदेश जाने सोच बनाएँ । होटलमा काम गरे बापत आफूले बचत गरेर राखेको पैसा खर्च जोडेर भएपनि विदेश जाने कुरा गर्न पूनः घर फर्किएँ । घरपरिवारको सल्लाह मुताबिक विदेश जाने सबै प्रक्रियाहरु गरें । ३ वर्षको करारको लागि म मलेसिया उड्ने निश्चय भयो । मलेसियाकै एकदमै प्रख्यात होटलमा फेरी संघर्षका धारहरु चुल्याउन थालें । अनुभव लगनशीलता र मेहनत देखेर पनि मलेसियाका होटलकै ठूला मेनेजर देखि सारा स्टाफहरु म देखि निकै सन्तुष्ट थिए । ३ वर्षको करार समाप्तिपछि म पुनः आफ्नो देशमा फर्किएँ । वैश लागेपछि बुबाआमाले पनि मेरो विवाहको निम्ति कुराकानी अगाडि बढाउँदै लैजानुभएको रहेछ । भिनाजुकै माध्यमद्धारा सिन्धुलीकै एउटी केटीसँग मेरो लगनगाँठो कसिने तयारी रहेछ । रितितिथिकै आधारमा कन्यादान गरी सकेपछि हामी दुवैजना वैवाहिक बन्धनमा बाँधियौं । मेरो विवाहले सबैको हृदयमा एक किसिमको खुशीहरु उब्जिरहेका थिए । हामी दुवैजना एक अर्काबीच खुशीहरु अभिव्यक्त गर्दै जीन्दगीको रंगहरुमा रंगिदै गयौं । विवाह भएको चार महिनापछि बुबा आमाले आफ्नो अंशहरु दुवै छोरालाई बराबरी गरिदिनुभयो । उनले परिवर्तनीय कुरा गरिन् । म अचम्ममा परें । हाम्रो परिवारको अंश लिएर बसेको कारण उनमा केही चिन्तित मुद्रा देखिन्थ्यो । त्यसपछि आमाबुबाबाट पारिवारीक सम्बन्धबाट अलग्गिएपछि श्रीमती र परिवार पाल्न काठमाडौंमा पुनः कामको निम्ति जानु परेकोले श्रीमतीलाई सुख चयनले खुशीहरु दिने प्रतिबद्धता भई घरमा श्रीमतीलाई एक्लै छोडी म सुटुक्कै काठमाडौंतिर पसें । पुनः काम धन्दा गर्ने सोच लिएर पुरानै साहुकै होटल जाँदा त साहुले होटल नै बेचिदिएको रहेछ । कामको खोजनीति गर्दै थिएँ । जीन्दगीमा एउटा आशा पलाउँदै आयो । साथीहरुकै ज्यामी कामले जीन्दगी धान्दै गएँ । ज्यामी कामको कठिनतालाई काँधमा च्यापी म संघर्षशील जीन्दगीमा बाँच्दै गएँ । तैपनि मेरो मन काठमाडौंको संघर्षमय स्थितिसँग बाँच्न चाहेको थिएन । किनकी गाउँमा श्रीमती एक्लिएका कारण गाउँ जाने निर्णय गरें । काठमाडौंको २ महिनाको बसाईपछि गाउँ फर्किँदा त श्रीमतीले जीन्दगीमा खुशीको आगमन हुन लागेको बताइन् । हामी दुवैको खुशीका मुस्कानहरु एउटै ओठभित्र गाभियो । 
२०७२ साल फागुन ८ गते छोरी आशिकाको जन्म भयो । जीन्दगीको खुशीहरु छट्पट्टि वरिपरी बलिरहेझै महसुस गर्न थालें । दुई परिवार अब एक जोडेर तीन परिवारको जीविकापार्जन गर्ने सोच निर्धारण गरेर गाउँमा व्यापार व्यवसाय गर्ने अठोट लिएर कुखुरापालन व्यवसाय गर्ने प्रस्ताव सुनाएँ । यो व्यवसायले आफ्नो जीविकापार्जन हुने सहि निर्णय मन भित्र राखेर कुखुरापालन व्यवसाय गर्दा आवश्यक पर्ने स्रोतसाधनहरु सबै जुटाएर घर भन्दा करिब १ घण्टा दूरी टाढा पर्ने स्थानमा कुखुराको पोल्ट्री फर्म खोल्यौं । पोल्ट्री फर्मको कामधाममा एक्लैले नै सबै कुरामा हात बढाउँदै छ महिनासम्म संघर्षमय स्थिति गुजारे वापत कुखुरापालन व्यवसायबाट आर्जन गरेको मुनाफालाई संचित गरी श्रीमतीको हातमा सुम्पें । श्रीमतीसँग टाढिएर बस्न नसकेको कारण श्रीमतीलाई पनि कुखुरा फर्ममै राख्ने विचार गरेर हामी सँगै बस्न थाल्यौं । व्यवसायले जीन्दगी धान्न पुगिरहेकै थियो । तैपनि जसोतसो हामी दुवैजना आआफ्ना खुशी बाँडीचुँडी बसेका थियौं । सन्तुष्टतामै जीन्दगी आफ्नै मोडमा अगाडि बढिरहेको थियो । भाग्यलाई भाग्यले नै ठग्दो रहेछ भाग्यले भाग्यलाई रित्तो पारेर ठगेपछि कसको के पो लाग्दो रहेछ र ? 
वि.सं. २०७४ साल श्रावण २४ गतेका दिन महाभुकम्पले देशमा धेरै क्षति भए अनुसार भुकम्प पीडित आम नेपालीलाई भुकम्प राहत दिने सरकारको निर्णय अनुरुप देशको गाउँ शहरमा राहत वितरणको निम्ति सम्पूर्ण पारिवारीक भौतिक क्षति विवरण लिएर गाउँपालिकामा राहत लिन गएँ । उक्त सूची मेरो नाम नभएपछि फर्मतिरै फर्किएँ । फर्म अनि घरको सम्पूर्ण काम तमाम गरेर खानपान भईसकेपछि म सानो छोरीको हेरविचार गर्दैथिएँ । रात निकै छिपेको भएर उनलाई सुत्न आग्रह गर्दा छोरीलाई सँगै लिएर ओच्छ्यानमा ढल्किइन् । कुखुराका चल्लाको रेखदेख स्याहारसुसार गर्नु मेरो ठूलो जिम्मेवारी थियो । रातको १ बजेसम्म काममा तल्लीन हुन्थे । उनीहरु जुरुक्क उठेर कोमल स्वरले मलाई सुत्न अनुरोध गर्थिन । चल्ला हेरचार गर्न पालैपालो क्रमबद्ध रुपमा पहिले पनि खट्थ्यौं । त्यो दिन पनि मलाई सुताएर उनी चल्ला हेर्न जान्छु भनि गइन् । आफ्नो विस्तारामा गएर भुसुक्कै सुत्न पुगेछु । आँखाभरि परिवारको सपना बोकेर डुबि रहें । सानी छोरी रोएको आवाजले म झसंग विउझिन पुगें । छोरीको रुवाईकै चिच्याहटले आमाको न्यानो काख खोजेको भानमा म श्रीमतीलाई घर बरिवरी खोज्न थालें । वरिपरी नदेखेको भएर कामको सिलसिलामै कतै गएकी होलिन् भनि केही समय छोरीलाई काखमा लिएर घर सामुन्ने उभेर बसें । केही मिनेट त कुरें तर मिनेट घण्टामा परिणत भयो । तैपनि उनी आइनन् । मभित्र एकप्रकारको कौतुहलताले मनभरी त्रास शंका उपशंकाहरु उब्जिन थाल्यो । तर पनि आँखा फिजाएर उनलाई कुर्दा पनि आइनन् । भयको राक्षसहरुले मस्तिष्कमा हमला गर्दा के  गर्ने के नगर्ने उकुसमुकुसताले म निस्सासिएँ । दाई र भाउजुलाई सिधै गएर बुहारी आएको हो भनि सोधें । उहाँहरुले केहि थाहा नभएको खबर दिएपछि दाई र भाउजुलाई घर वरिपरिीका आफन्त छरछिमेकहरुलाई बोलाइ वृतान्त बताएँ । सबै जना श्रीमतीकै खोजीनीति गर्ने तरखरमा लाग्यौं । उनको माईतीमा सालो भाईलाई मोबाइलमा वृतान्त बताउँदा श्रीमती माईती नगएको कुरा ज्ञात भयो । ससुरा बुबाले पनि केही समय पछि मेरो मोबाइलमा सम्पर्क गर्दा छोरी हराएको थाहा पाएर आतंकित हृदय लिएर रुँदै सिन्धुलीबाट यता आउने कुरा गर्नु भयो । हामीले सकेजति ठाउँ ठाउँ वरिपरी श्रीमतीको फोटो सहित मान्छे मान्छेहरुको घर, बाटो, पसल प्रायजसो सम्पूर्ण ठाउँतिर खोजनीीत ग¥यौं । तर कतै पत्तो पाउन सकिनँ । श्रीमतीको पीडाले इन्तु न चिन्तु भइरहेको समय ससुरा बा लगायत सालोभाई, ससुरो सिन्धुलीबाट काभ्रे आउने तरखरमा हिँडिसकेको कुरा दाईबाट थाहा पाएँ । छरछिमेकी नातागोताहरुको सल्लाह सुझाव अनुसार श्रीमतीको खोजविन गर्न हामी कानुनी तबरमा इलाका प्रहरी कार्यालय मंगलटार गई मौखिक रुपमा वृतान्त प्रहरीसमक्ष बतायौं । तर प्रहरीहरुले मौखिक भन्दा लिखित माग्यो । भाई र म अलमलमा परेर चिठी लेख्ने स्थानमा पालो कुरेर बसिरह्यौं । अचानक आँपघारी कुशेश्वर क्रसर उद्योगमा कार्यरत एकजना कर्मचारीले प्रहरीलाई मोबाइलमार्फत रोशीखोलाले वतन खुल्न नसकेको एक महिलाको विभत्स लाशलाई पानीले बगाउँदै ल्याई वेवारिसे अवस्थामा रहेको खबर गरेपछि प्रहरीले हामीलाई आफूसँग जान अनुरोध गरेसँगै प्रहरीकै गाडीबाट हामी सबै त्यस ठाउँमा पुग्यौं । 
के थाहा यस्तो विपत्ति आफ्नो जीन्दगीमा खड्किन्छ भनेर । प्रहरी र म जब रोशीखोला नजिक त्यो लाश अगाडि पाइला बढ्दै थियो म भित्र केही उत्सुकताहरु उब्जिरहेका थिए । जब म त्यो विभत्स लाश सामुन्ने पुगें । म उभिएको उभियै भएँ । म भित्रको आत्मा आफैबाट भागेर गए झै भयो । त्यो लाश त अरु कसैको नभएर मेरै श्रीमतीकै पो थियो । श्रीमतीको यो वेवारिस लाश देखेर भक्कानो छुटाई रुने सिवाय अरु केही देखिनँ । म एक्कासी श्रीमतीको अँगालोमा बेरि झन घरीघरी रुन थालेको देखेर प्रहरीले मलाई सान्त्वना दिएर श्रीमतीको लाशबाट अलग पारे । म श्रीमतीलाई एकोहोरो हेरिरहें । ससुरा बुबालाई यथार्थहरु सबै मोबाइल मार्फत जानकारी दिएको केही समय पछि ससुरा बुबा र ससुरा काका पनि त्यस स्थानमा टुप्लुक्क आइपुग्नुभयो । त्यसछि ससुरा बुबा र काका पनि श्रीमतीको लाश देखेर भक्कानिँदै रुनुभयो । मेरो छोरीले तेरो के बिगार गरेकी थिइ र जसको कारण तैले कुटपिट गरी मेरी छोरीलाई मारी रोशी खोलामा बगाईदिइस् । तँ ज्यानमारा ज्वाइँलाई म छोड्दै छोड्दिनँ भन्दै रिसको आवेगमा आक्रोश प्रकट गरी म माथि तँछाड मछाँड गर्नुभएको देख्दा मैले पनि रुँदै के आफूले जानीजानी आफ्नो छातीफोडी मुटु झिकेर मर्न चाहला र ? ससुराले आघात नै पर्ने हिसाबले गरेको हमलाको प्रतिकार गरी प्रहरीले उहाँलाई झ्याप्पै समात्नुभयो । घरपरिवारका छरछिमेकीहरु पनि त्यस ठाउँमा जम्मा भए । प्रहरीहरुले लाशको विवरण घटना स्थल मुचुल्का, गाउँलेहरुको सोधपुछ विवरण लिईसकेपछि श्रीमतीको लाश पोष्टमार्टमको निम्ति शबवाहन गाडी मार्फत पोष्टमार्टमको निम्ति शिर मेमोरियल अस्पताल लग्यौं । भोलिपल्ट पोष्टमार्टम गरि सकेपछि लाश बुझी लिने पेपरमा सम्बन्धित व्यक्तिको हस्ताक्षर गर्न मलाई अगाडि बढाए । पछि मैले हावादारी ढंगले हस्ताक्षर गरिदिएँ । श्रीमतीको लाश पोष्टमार्टमको रिपोर्ट नआउन्जेलसम्म लाशलाई दाहसंस्कार नगर्ने प्रतिबद्धता जनाउँदा ससुरा बुबाले मसँग प्रतिकार गरी श्रीमतीको लाश दाहसँस्कार गर्ने अन्तिम निर्णयमा पुगेपछि बाध्यवश श्रीमतीको लाशलाई बुझ्न दाईहरु तम्सी बुझि लिएपछि प्रहरीहरुले केही सोधपुछको निम्ति विशेष काम भनि म उहाँहरुसँग पछिपछि लागें । अरुको उक्साहटमा रिसको झोकले म माथि कर्तव्य ज्यानको किटानी जोहर जिल्ला प्रहरी कार्यालय धुलिखेलमा गरेको भएर श्रीमतीको मृत्युमा अझ थप अनुसन्धान गर्ने हेतुले २४ दिनसम्म मलाई प्रहरी हिरासतको चिसो छिँडिमा दिन बिताउन बाध्य भएँ । २४ दिनको हिरासतमा राखेको अनुसन्धान पछि जिल्ला अदालत कार्यालय काभ्रेले थप अनुसन्धान गन पुर्पक्षका लागि जिल्ला कारागार कार्यालय धुलिखेलमा पठाइयो । 
म दोषी नभईकन कठिनतापूर्वक कैदी जीवन जिउन बाध्य भएको छु । आज मेरा दिनहरु कति कष्टदायी छन् । म सबैबाट बन्चित हुन पुगेको छु, परिवार, आफन्त, नातागोता, इष्टमित्रहरु पनि म बाट टाढा भएका छन् । जीन्दगीको सबै चिजबाट बन्चित हुन पुगेको म अभागी पुर्पुरो एकपल्ट आफै मस्तिष्कको धरातलभित्र उभि आफै एक्लिएको महसुस भईरहेको हुन्छ । श्रीमतीको न्यानो मायाबाट टाढिएको जीन्दगीलाई समयको बिघ्न बाधा थुप्रो भित्र चाङ लगाई यहि समयकै पर्खाइमा बसेको छु । सायद मैले उक्त जघन्य अपराध गरेको छु वा छैन म कसरी त्यसलाई सत्यकै आधार बनाई तथ्यगत रुपमा प्रमाणित गरिदिन सक्छु । समाज गाउँ परिवार इष्टमित्र नातागोताको दृष्टिमाझ म एउटा हत्यारा भएर उभिन पुगेको छु । तर मैले यो पाप गरेको हुँ वा होइन त्यो त म मात्र जान्दछु कि त सबैको इन्साफकर्ता परमेश्वर मात्र जान्नुहुन्छ । जसले गर्दैन गर्दा पनि असत्यलाई सत्य बनाई कसैको जीन्दगी विध्वंश तुल्याई दिने ति पापीहरुलाई यो निर्दोषको आँशुले अवश्य पोल्नेछ तब त्यो बेला ज्ञात गर्नेछ कि कसैलाई घरीघरी रुवाएर कसैको जीन्दगीमा बर्बादीको आगो झोस्दाको परिणाम । अहिले लाउँलाउँ खाउँखाउँ गर्ने वैंशमा पनि सबैबाट पृथक हुन पुगेको छु । श्रीमतीलाई सात जन्म साथ आँट र भरोसा दिन नपाउँदै निर्दयी दैवले मृत्युको बज्रप्रहार गरी मेरो जीन्दगीबाट श्रीमती खोसेर लग्दाको पीडा अनि सन्तानलाई दिनुपर्ने उत्तरदायित्वबाट वञ्चित हुनुपर्दाको पीडै पीडामाथि जीन्दगीको चिसो पानी खनाई यथार्थको आगो सल्काई तताउन बाध्य भएको छु । खै न एउटा अबोध बालिका सहाराविहिन हुन पुग्दा कसले पो बुझिदेला र ती बालिकाको दर्दनाक मर्म अनि विवशता । 
नारायणबाबु रायमाझी
धुलिखेल, कारागार
 

प्रकाशित मिति: 14 February, 2018