विचार

पार्टी एकता तासको महल झै नहोस्

जी.एन. प्रधान
२०७४ साल असोज १७ गते विहानै अप्रत्यासित रुपमा अत्यन्त नौलो र खुशीको खबर सुन्न पाइयो । सुन्दा कताकता अपत्यारिलो जस्तो लाग्ने, पत्याउनै पनि गाह्रो लाग्ने, सपनाकै कुरो हो कि जस्तो लाग्ने कुरो सुन्नमा आइपुग्यो । वाहिरतिर मानिसहरुको गफसफ पनि यस्तै यस्तै सुन्न थालियो । दिनभरिको जस्तो संचारमाध्यम र चर्चित पत्रपत्रिकाहरुमा पनि यस्तै कुराहरुलाई मुख्य शीर्षक बनाई समाचार बनाइएको पाइयो । झनै १७ गते बेलुकाको सबै टेलिभिजनहरु प्रदेशसभा र राष्ट्रिय सभाको निर्वाचनमा चुनावी तालमेल र निर्वाचन सम्पन्न सँगै पार्टी एकीकरण गर्ने भन्ने सम्मको ६ बुँदे सहमतिपत्रको हस्ताक्षर र टेलिभिजन दृष्यहरुमा देखिएको एकीकरणको प्रयासको लागि भएको शीर्ष नेताहरु बीचको सौहार्दपूर्ण हातेसाङ्लोको दृष्यले विपनायुक्त खबरको रुपमा पुष्टि गर्न पुग्यो । टेलिभिजनको दृष्य र एफएमहरुको खबर सुनेर, देखेरै भएपनि यो स्तम्भकारलाई अत्यन्तै खुशी तुल्यायो । सानातिना कुरामा समेत मिल्न नसकेर फुट्ने बानी परेका संकीर्ण विचारका नेताहरुमा एकाएक यसरी पार्टी नै एकीकरण हुने सम्मको बुद्धि कसरी फि¥यो भन्ने कुराले अचम्मित पनि तुल्यायो ।
    त्यसैले नेताहरुले जतिसुकै मुठी कसेर एकताको प्रतीक झल्किने हातेसाङलो आम नेपाली सामु देखाएपनि यो स्तम्भ लेखकलाई अझै पत्याउन गाह्रो भइरहेको छ, एकता टिकाऊ हुने कुरामा शंका लागिरहेको छ, विश्वासै मान्नै नसकिने भइरहेको छ । कतै क्षणिकभर मात्रै एकता (एकीकरण) हुने त हैन भन्ने कुरामा आम कार्यकर्ता, समर्थक एवं शुभचिन्तकहरुको मनमा शंका छाइरहेको छ । यो शंका, उपशंकालाई चिर्न नेतृत्व तह कत्तिको सफल होला हेर्न बाँकी नै छ ।
    जेहोस् दीर्घकालीन लक्ष्य एवं उद्देश्य एउटै भएपनि तत्कालीन अवस्थामा दुईतीन ध्रुवमा फर्किएको गतिविधि र व्यवहार भएका बीच पार्टी एकीकरण गर्ने योजनाका साथ यो नाटकीय प्रयास भइरहेको छ । यो नाटक नाटक जस्तै नभै सार्थकतामा परिणत होस् । आम नेपालीहरुको चाहना यहि रहेको छ । फेरि पनि पार्टी नेतृत्वको सवाललाई लिएर, सत्ता स्वार्थ तथा आगामी प्रतिनिधिसभा (केन्द्रीयसभा) र प्रदेशसभाको टिकट वितरण, बलियो निर्वाचन क्षेत्र र कमजोर निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने, नबने सवाललाई लिएर पार्टी एकीकरणमा वा पार्टी स्थायी बनाउने कुरालाई प्रभाव नपारोस् र केन्द्रीय सभा र प्रदेशसभाको निर्वाचनमा जित्नकै लागि मात्र चुनावी तालमेल र पार्टी एकीकरणको कुरा नबनोस् अर्थात क्षणिक स्वार्थ पूरा गर्ने उद्देश्यले मात्र यो पार्टी एकीकरण नहोस् । यदि यसो भयो वा गर्न पुग्यो भने यो नेपालमा जीवन जीवन सम्म कम्युनिष्टहरुको शासन आउने छैन । शोषित, पीडित जनताहरुको हि तगर्ने शासनप्रणाली स्थापित हुने छैन । फेरि पनि वामपन्थीहरुको एकताको प्रयासको गुन्जायस रहने छैन ।
    त्यसैले पनि यो एकता अर्थात एकीकरण प्रयास कसैले कसैको लागि झुक्याउने खेल नहोस् । एकले अर्काेलाई समाप्त पार्ने रणनीतिक कार्य नहोस् । यो एकता काँचको जोरन नहोस्, सुपरग्लुको जोरन होस् । संकीर्ण भावनालाई पूर्ण रुपमा समेटेर अगाडि बढ्न सफल होस् । कोही कुनैसँग पूर्वाग्रही नहोस् । स्वच्छ, इमानदार, सक्रिय, जनप्रिय, लोकप्रिय, विकासप्रेमी, समाजसेवी होस् । धन, बल, गुण्डा, मुण्डा, अवसरवादी, लोभीपापी र माफियामुखी, भ्रष्टमुखी, चरित्रहीन नहोस् । गुटबन्दी र कित्ताकाटमुखीबाट अलग्गै होस् । देश र राष्ट्रिय स्वाभिमालाई सदैव उच्च राखी सम्पूर्ण नेपाल र नेपालीको सम्बृद्धिमा अगाडि बढ्ने व्यक्तिहरुले स्थान पाओस् । र, नेतृत्व तह एवं नेताहरुबाट यस्तै व्यक्तिहरुलाई चुनेर जिम्मेवारी दिन ध्यान देओस् । जनताका प्रतिनिधि यस्तै होस् जसले देशको हितमा आफूलाई समर्पित गरोस् । पार्टी एकीकरण नै हुने÷गर्ने भए पछि भिन्न पार्टी भिन्न पार्टी बीच हुने चुनावी तालमेल जस्तो मात्रै नहोस् । सिङ्गो पार्टीकै समर्थनमा, सिङ्गो पार्टीकै आधिकारिक उम्मेदवार जस्तै होस् । कुनै पनि उम्मेदवारको विरुद्धमा एकीकरणबाट असन्तुष्टि भएर बागी उम्मेदवार बन्ने वातावरण सिर्जना नहोस् । टिकट पाएका वा टिक पाउने बलियो सम्भावना भएर पनि पार्टी एकताको कारणले उम्मेदवार बन्नबाट विमुख भएकाहरुलाई उपयुक्त किसिमको स्थान दिएर चित्त बुझाउन सक्ने वातावरण बनोस् । कसैको कारणबाट कसैको चित्त दुखाई नहोस् । सम्भावित व्यक्ति, जो टिकटको बलियो दाबेदार हो उसैले राम्रो सहयोग गर्न सक्ने वातावरणको निर्माण होस् । उस्तै हैसियतको जिम्मेवारी वा अर्काे पटकको जिम्मेवारीको ग्यारेन्टी होस् । यसो भएमा नै पार्टी एक हुनुको अर्थ हुन्छ । पार्टी एकीकरण भएपनि पार्टीप्रतिको लगाव इतिहास, इमानदारीता, सक्रियता, लोकप्रियता, आर्थिक इमानदारीता एवं स्वच्छ चरित्रकोलाई उचित मूल्यांकन गरियोस् । यसको अभावमा एकीकरणलाई कमजोर बनाउने अवस्था नआओस् ।
    जे होस् ढिलै भएपनि धेरै जनताहरुको इच्छा र चाहना पूरा हुन लागेको छ । एकताका एक आपसमा ठूलै शत्रुहरु देखिएका दुई ठूला वाम शक्तिहरुका बीचमा एकीकरणको प्रयास हुँदैछ । यसलाई सबैले अत्यन्त सकारात्मक ढंगले हेरिरहेका छन् । अपवादमा कोही विमति जाहेर गर्नेहरु पनि हुनसक्छ । यसलाई चिन्ताको विषय बनाउनु आवश्यक छैन । पार्टी एकता राम्रो भई राम्रो सन्देश दिन सकेको अवस्थामा अरु पनि वाम विचारधारा भएका, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, राष्ट्रको सम्बृद्धि चाहनेहरु अरुपनि क्रमशः समाहित हुने वातावरण बन्नेछ । यो एकता पार्टी एकता मात्रै नभै राष्ट्रिय स्वाभिमानको रक्षा गर्न र राष्ट्रिय एकतालाई बलियो बनाउन समेत सहयोग गर्नेछ । यहि वाम शक्तिहरुबीच को द्वन्द्व, टुटफुट तथा विभाजनकै कारण राष्ट्रिय स्वाभिमान कमजोर भएको छ, दक्षिण छिमेकी राष्ट्रले देशको सिमाना मिच्नमा उद्दत छ । भारत परस्त नेपाली काँग्रेस वारम्बार सत्तामा पुग्न सफल छ । नेपाली काँग्रेसको प्रजातान्त्रिक शब्द मोहले भ्रममा परेका जनताहरुको आर्थिक क्रयशक्ति दिन प्रतिदिन घट्दो अवस्थामा रहेको छ । केवल मुठीभरका व्यक्तिहरुदेखि बाहेक । सँगसँगै जस्तो राजनीतिक शासन परिवर्तन भएको चीन जस्ता मुलुकहरु आर्थिक समृद्धिमा उच्च र रोजगारमा आत्मनिर्भर भइसक्दा हाम्रो देशका युवाशक्तिहरु भने आयआर्जनकै लागि खाडी मुलुक लगायत बाह्य देशहरुमा रोजगारका लागि भौंतारिरहनु परेको छ । यो सब हुनुको कारण हो नेपाली काँग्रेस नै बारम्बार सत्तामा पुगिरहनु र मुलुकलाई आर्थिक समृद्धि एवं विकास प्रक्रियामा अघि बढाउने कार्यमा योजना नबनाउनु । मात्र सत्तामा पुगेर राज्यको सम्पत्ति कसरी हातपार्ने भन्ने चिन्तनको विकास बाहेक अरु केहीको विकास गर्न खोजेन नेपाली काँग्रेस र यसको नेतृत्वको सरकारले ।
    तसर्थ नेपाल र समग्र नेपाली जनताको आर्थिक समुन्नति र विकासको लागि नेपालमा एमालेको नेतृत्वको सरकार आवश्यक छ । यसको लागि सम्पूर्ण देशभक्त र विकासप्रेमी वामशक्तिहरुको एकता र सहयोगको आवश्यक छ । यसको लागि पनि वाम एकताको धेरै आवश्यक थियो । जुन चार दशक अघि नै हुनु पर्दथ्यो । ढिलै भएपनि अहिले भएको छ । यसबाट सबै दक्षिणपन्थी शक्तिहरु अतालिएका छन् । यसमाथि छिमेकी भारतलाई झन् बढी पीर परेको छ । नेपाली काँग्रेसको निद्रा भंग भएको छ । देशको समृद्ध चाहनेहरु सब खुशी भएका छन् । धेरै भन्दा धेरैको वाम एकताको इच्छा, चाहना र कामना अहिले पूरा हुन लागेको छ । यसलाई क्षणिक एकता र अस्थायी कार्यगत एकतामा मात्र सीमित नराखी स्थायी एकतामा अगाडि बढाउनमा सबै पक्षबाट बल दिनुपर्छ । विगतका दिनमा भए गरिएका, गल्ती कमीकमजोरीहरुबाट पाठ सिक्दै अघि बढ्न सक्नुपर्छ । द्वन्द्वकालमा भोग्नुपरेका असह्य पीडाहरुलाई भुल्ने वा क्षमा दिनसक्ने वातावरण पीडक पक्षबाट गर्न सक्नुपर्छ ।
आजसम्म वाम एकताको अभावमा यो मुलुकले यो दुर्गति जुन भोग्नुप¥यो । यो सबै आफू आफूबीचको फुट र विभाजनले गर्दा भयो । यसैले गर्दा एकले अर्काको आलोचना, गाली गलौजमा मात्र सीमित नभई देश र जनताको भलाईको लागि फराकिलो तथा महान छाति लिएर अगाडि बढ्नुहोस् । कोही पनि नेता र कार्यकतौ यो एकताको प्रयासबाट पछि हट्ने जाहेर गर्ने वातावरण नहोस्, मनमा पनि नआओस् । यस कार्यलाई अत्यन्त सकारात्मक र सबभन्दा महान सोचाईको रुपमा ग्रहण गरौं । यो भन्दा अघिको धेरैपटक इतिहासको रुपमा स्थापित भएको टुटफुट र विघटन र विभाजनको घटना फेरि नदोहोरियोस् इतिहासको ती नजिरहरुलाई तोड्न सफल होस् । अर्थात नेपालमा कुनै पनि वाम पार्टीहरु बाँकी रहने अवस्था नरहोस् । अथवा अहिलेको यो पार्टी एकता तासको महल वा काँचो प्रेम जस्तो नहोस् ।
    एकताका राजनीति भडकावको कारण कतिपय व्यक्ति र परिवारहरु अक्षोभनीय आक्रमणको शिकारबाट अत्यन्त मर्माहत बन्न पुगेका छन् । जीवनभरी विर्सनै नसकिने कहालीलाग्दो राक्षसी आतंकबाट त्रसित पनि छन् । यहि गहिरो छाप परिरहेका कतिपयलाई यो एकीकरणसम्म लक्षित तालमेल अत्यन्त अपच्य र नमिठो लाग्न सक्छ । तर राजनीतिप्रति समर्पित र शोख भएका व्यक्तिहरुले राजनीतिको हरेक खेल र सम्भावनाहरुलाई पनि बुझ्ने र मनन गर्ने गर्नुपर्छ । हुन त खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ । तर अचानोकै सहायताले खुकुरीले कति सुरक्षा पाए र अचानो नभैदिएको भए खुकुरीको हविगत पनि के हुन्थ्यो भनि बुझ्न सक्नुपर्छ । अचानो विना खुकुरीको प्रयोग पनि त्यति सम्भव छैन, सोझै विना अचानो छप्काउने अवस्थामा बाहेक ।
अन्तमा आ–आफ्नो स्वार्थ सिद्ध गर्ने र व्यक्तिवादी प्रवृत्तिलाई त्यागेर राष्ट निर्माण गर्ने कुरामा सबैको ध्यान जाओस्, मैले र मेरो पार्टी समूहले बढी स्थान पाओस् भन्दा पनि देश बनाउने चिन्तन भएकाले जित्न सकोस् । हाम्रो गठबन्धनले वा हाम्रो पार्टीले जित्न सकौं भन्ने भावनाले सबै सफा मनले लाग्न थालौं । यसैमा हाम्रो प्रतिष्ठाले चुम्ने छ । सामूहिक रुपमा गर्व गर्न पाउने वातावरणको निर्माणमा अघि बढौं । बस यति नै ।

Posted:

  • तपाईको स्वास्थ्य हाम्रो सरोकार
  • लेख/रचना
  • साताको राशिफल
  • चेष्टा क्विज
  • सुन-चाँदी
  • लोडसेडिङ तालिका
  • Weather Report

    Quick Contact

    Chardobato, Kavre, Nepal
    Tel: +977 011 662494
    Email : cheshtaweekly@yahoo.com
    info@cheshthaweekly.com.np

    -->